बढ्दो मुद्रास्फीतिले जापानमा भेन्डिङ मेसिनको व्यापारमा मन्दी
जापानका हुलाक कार्यालय र पार्कदेखि लिएर स्टेशन र माउन्ट फुजीको चुचुरोसम्म ‘भेन्डिङ मेसिन’हरू सर्वत्र पाइन्छन्। तर तीव्र गतिको मुद्रास्फीतिले पेय पदार्थको माग घटाएपछि सञ्चालकहरू आफ्नो व्यवसायबारे पुनः विचार गर्न बाध्य भएका छन्।
गत महिना, पेय पदार्थको विशाल कम्पनी ‘डाइडो ग्रुप होल्डिङ्स’ले “नाफामूलक सञ्जाल पुनः निर्माण” गर्न जनवरी २०२७ सम्ममा देशभर रहेका आफ्ना मेसिनमध्ये करिब २०,००० (कुल मौज्दातको ७ प्रतिशत) हटाउने घोषणा गरेको छ।
नागोयामा आधारित ‘पोक्का साप्पोरो फूड एन्ड बेभरेज’ले पनि मार्चमा आफ्नो ४०,००० मेसिनको सञ्चालन ओसाकास्थित ‘लाइफड्रिङ्क कम्पनी’लाई बिक्री गर्ने बताएको छ।
“भेन्डिङ मेसिन व्यवसायको सबल पक्ष भनेको अधिकतम खुद्रा मूल्य (लिस्ट प्राइस) मा सामान बेच्नु थियो,” पोक्का साप्पोरोकी प्रवक्ताले एएफपीलाई भनिन्। तर “सूचीबद्ध मूल्यमा भएको वृद्धिले मानिसहरूलाई छुटमा पेय पदार्थ बेच्ने पसलहरूतिर आकर्षित गरिरहेको छ,” उनले थपिन्।
खाद्य सामग्री डेलिभरी कम्पनीमा कार्यरत ३१ वर्षीय तेत्सुहारु कावागुचीले मूल्य नै भेन्डिङ मेसिन छोड्नुको मुख्य कारण भएको बताए। “मेसिनबाट पानी किन्दा पनि करिब १३० येन (८० सेन्ट) पर्न जान्छ। यदि तपाईं कन्भिनियन्स स्टोरमा जानुभयो भने यो अलि सस्तोमा पाउन सकिन्छ, र औषधि पसल (ड्रगस्टोर) जस्ता ठाउँमा त यो निकै कम मूल्यमा पाइन्छ,” उनले स्पष्ट पारे।
लामो समयसम्म ‘डिफ्लेसन’ (मूल्य गिरावट) को समस्या भोगेको जापानले हालैका दिनहरूमा जीवनयापनको लागतमा वृद्धि खेपिरहेको छ।
पेय पदार्थ उद्योगमा केन्द्रित अनुसन्धान संस्था ‘इन्र्यो सोकेन’का काजुहिरो मियाशिताले मेसिनहरूमा सामान भर्न लाग्ने इन्धन र कर्मचारीको बढ्दो लागतले नाफा खाइरहेको बताए। उनले भने, “यदि उनीहरूले लागत कटौती गरेर मूल्य नियन्त्रण गर्न सके भने मात्र कन्भिनियन्स स्टोरहरूसँग प्रतिस्पर्धा गर्न सक्छन्।”
‘नोमुरा रिसर्च इन्स्टिच्युट’का ताकायुकी इशिजाकीका अनुसार बढ्दो वातावरणीय चेतनाले पनि सञ्चालकहरूका लागि समस्या निम्त्याएको छ। “यसले गर्दा केही मानिसहरूले बाहिर पेय पदार्थ किन्न छोडेर आफ्नै बोतल बोक्न थालेका छन्,” उनले भने।
यद्यपि, चाउचाउ (रामेन), काटिएका फलफूल, किम्ची र क्रेप्स समेत पाइने यी भेन्डिङ मेसिनहरू तत्कालै हराउने सम्भावना भने छैन। “अन्ततः जापानको जुनसुकै ठाउँमा थोरै हिँड्नेबित्तिकै मेसिन भेटिने यो चरम सुविधालाई अरू कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन,” इशिजाकीले भने। “अबको कदम भनेको मेसिनहरू कहाँ राख्ने भन्ने कुरामा अझ रणनीतिक र छनौटपूर्ण हुनु हो।”
टोकियोका २७ वर्षीय हेयरड्रेसर ताइसुके ओगुरो पनि यी मेसिनहरूको अस्तित्व बचिरहोस् भन्ने चाहन्छन्। “जहाँ कन्भिनियन्स स्टोरहरू छैनन्, त्यस्ता ठाउँमा यी मेसिनहरू हुनु वास्तवमै निकै उपयोगी हुन्छ,” उनले भने।





प्रतिक्रिया राख्नुहोस्