संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे
सरकारले बोलाइसकेको संसद अधिवेशन रोकेर अध्यादेश ल्याउन लागेको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग उहाँले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको र त्यस्तो कार्यमा पार्टीको असहमति रहने बताउनुभयो ।
“एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन । जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।
उहाँले पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकका विभिन्न निर्णयबारे जानकारी दिनुभएको थियो ।
प्रवक्ता चालिसेले पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धि भएको अवस्थामा सहुलियत दिने तथा गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनामा भएको क्षतिको अनुसन्धान गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्