पाँच सेकेण्डमा पूरै शरीर सेनिटाइज हुने टनेल बनाए युवा वैज्ञानिक ढुंगानाले
संकट नै सिर्जनाको स्रोत हो भन्ने तथ्यलाई नेपालमा प्रमाणित भैरहेको छ । अहिले कोरोना भाइरसको महामारी फैलिइरहेका बेला यसबाट बच्न तनहुँका वैज्ञानिक विकल्प ढुंगानाले पाँच सेकेण्डमा पूरै शरीर सेनिटाइज हुने टनेल बनाएका छन् ।
दमौली निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित ढुंगानाले दमौली अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न बुथ तथा शरिर सेनिटाइज गर्न अटोमेटिक सेनिटाईज टनेल निमार्ण गर्नु भएको हो ।
साबुन पानी र सेनिटाईजरले हात धुँदा हात रहेको कोरोना भाईरस मात्रै नष्ट हुन्छ अन्य भागमा फैलिएको मर्दैन त्यसैले पाँच सेकेन्डमा शरिरको बाहिरी भाग सेनिटाईज हुने गरी अटोमेटिक सेनिटाईज टनेल निमार्ण गरेको ढुङ्गानाले बताउनुभएको छ ।
उहाँले आफ्नो घरमा गरेको परिक्षण सफल भएपछि अस्पतालमा निमार्ण गरेको जानकारी दिनुभयो । टनेल ३० देखि ३५ हजार रुपैयाँ खर्चमा निमार्ण गर्न सकिने पनि जानकारी दिनुभयो ।
दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी, कर्मचारी, विरामी लगायतलाई कोरोना भाईरस सर्नबाट जोगाउन युवा वैज्ञानिक ढुंगानालाई बुथ निमार्ण गर्न लगाएको बताउनुभएको छ ।
गोरखापत्रलाई जानकारी दिनुभयो ।
बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत पिपिइ नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाबसङ्कलन गर्न सक्ने उहाँले जानकारी दिनुभयो । बुथ निर्माण भएपछि कोभिड–१९ का शङ्कास्पद बिरामीको सुरक्षित तरिकाले स्वाब सङ्कलन गर्न मद्धत पुगेकोले काम गर्न सहज भएको दमौली अस्पतालका प्रमुख डा।.सुनिल पौडेलले जानकारी दिनुभयो ।
यसअघि उहाँले सोलारबाट चल्ने स्कुटरको समेत विकास गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्दाको समयमा नै विद्युतीय डोजर, फुटबल खेल्ने रोबोट,जमिन, पानी र आकाशमा चल्नेगाडी, घाँस काट्ने रोबोट, हेलिकोप्टर, केवलकारको नमूना, र्यापिड बम डिस्फोजल रोबोट निर्माण गर्नुभएको थियो ।
विज्ञान र प्रविधि क्षेत्रमा योगदान पुर्याए बापत यसै वर्ष राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नु भएको थियो । यसैगरी ढुंगानाले २०७३ सालमा युवा प्रतिभा पुरस्कार पनि प्राप्त गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्