सूचना/प्रविधि

चीनको अवरोधपछि एआई कम्पनी ‘मानुस’ खरिद गर्ने निर्णयबाट मेटा पछि हट्दै

मेटा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप ‘मानुस’लाई गर्ने आफ्नो निर्णयबाट पछि हट्ने तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले जनाएको छ। चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उक्त कारोबारमा प्रतिबन्ध लगाएपछि मेटा यो स्थितिमा पुगेको हो।

फेसबुकको मातृ कम्पनी मेटाले गत डिसेम्बरमा ‘मानुस’ खरिद गर्ने सम्झौता भएको घोषणा गरेको थियो। मानुस एउटा एआई एजेन्ट हो, जसलाई चीनमा स्थापित तर हाल सिङ्गापुरमा मुख्यालय रहेको कम्पनीले विकास गरेको हो।

तर, चीनको आर्थिक योजना सम्बन्धी उच्च निकाय— राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै “मानुस परियोजनाको प्राप्तिमा वैदेशिक लगानीलाई निषेध गर्ने” र “सम्बद्ध पक्षहरूलाई उक्त खरिद प्रक्रिया फिर्ता लिन” निर्देशन दिएको छ। यद्यपि, उक्त विज्ञप्तिमा मेटाको नाम भने स्पष्ट रूपमा तोकिएको छैन।

मेटाले सोमबार एएफपीलाई दिएको एक बयानमा “उक्त कारोबार लागू हुने कानुनको पूर्ण पालना गरी गरिएको” बताएको थियो। कम्पनीले थपेको थियो, “हामी यस छानबिनको उचित समाधान निस्कने अपेक्षा गर्दछौँ।”

वाशिङ्गटन र बेइजिङबीचको तीव्र प्राविधिक प्रतिस्पर्धाका बीच यो सम्झौता नियामक निकायहरूको मारमा पर्न सक्ने भन्दै विश्लेषकहरूले पहिले नै चेतावनी दिएका थिए।

वाल स्ट्रिट जर्नलका अनुसार, यो निर्णयबाट पछि हट्ने प्रक्रिया निकै जटिल बनेको छ किनभने मानुसका लगानीकर्ताहरूले यस सम्झौताबाट आउने प्रतिफल पहिल्यै प्राप्त गरिसकेका छन्।

मेटाले डिसेम्बरमा यो सम्झौताको घोषणा गर्दा (जसको वित्तीय विवरण गोप्य राखिएको थियो) यसले “अर्बौँ मानिसहरूमा एक अग्रणी एआई एजेन्ट पुर्‍याउने र व्यवसायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने” बताएको थियो।

स्टार्टअप ‘बटरफ्लाई इफेक्ट’द्वारा निर्मित मानुसले आफ्नो वेबसाइटमा साधारण प्रयोगकर्ता निर्देशनका आधारमा सेयर बजारको विश्लेषणदेखि लिएर यात्राको व्यक्तिगत निर्देशिका तयार पार्नेसम्मका सबै काम गर्नसक्ने दाबी गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.