राजनीति

निर्वाचन प्रणाली संशोधन आवश्यक : डा कोइराला

मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताउनुभएको छ ।

डा कोइराला

आइतबार मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभयो ।

स्थिर सरकार नहुँदा जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास हुन नसकेको उहाँको भनाइ थियो । “अहिलेको निर्वाचन प्रणालीको अवस्था यस्तै रहिरहने हो भने स्थिर सरकार बन्न सक्दैन”, उहाँले भन्नुभयो, “यो प्रणालीमा कुनै दलले बहुमत ल्याउने अवस्था छैन, कुनै दलले स्पष्ट बहुमत नपाउँदासम्म सरकार बनाउने र गिराउने खेल चलिरहन्छ जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्छ ।”

कार्यक्रममा नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस र एमाले एक स्थानमा उभिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन गरी मुलुकलाई निकास दिन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकै स्थानमा उभिनुपर्छ, दुई दल एकस्थान नउभिँदासम्म संविधान संशोधन हुन सक्दैन ।”

कार्यक्रममा बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

बूढीगङ्गा गाउँपालिकालाई स्थानीय योगमाया कार्की र सोहार्द्र कार्कीले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको आठ कट्ठा दुई धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत रु ११ करोड ८६ लाखको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.