जल/वातावरण

६७ जिल्लामा डँढेलो, २२ जनाको मृत्यु, ८१ जना घाइते

केही वर्षयता सुख्खायाम सुरु भएसंगै डँढेलो र आगलागीका घटनाले ठूलो मात्रामा जनधनको क्षति पुर्याउने गरेको छ । गत फागुनदेखि सुरु भएको आगलागीसहितको डढेलो ६७ जिल्लामा फैलिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक महिना (चैत्र १५–वैशाख १५) सम्म एक हजार २ सय ९३ स्थानमा डँढेलोसहितको आगलागीका घटना भएका छन् ।

उक्त घटनामा २२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । सो अवधिमा ४९ करोड बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

यस अवधिमा आगलागीबाट १४ जना र डढेलोबाट आठजनाको मृत्यु भएको छ । वैशाख सुरु भएयता मात्र आगलागीका कारण नौ जनाको र वन डढेलोका कारण दुई जनाको मृत्यु भएको छ ।

सो अवधिमा २६ करोड बराबरको क्षति भएको छ । आइतबार मात्र काठमाडौँको शंखमूल दोभानपुलस्थित देवी अटोमोवाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी हुँदा दशवटा पसलमा क्षति भयो ।

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार डढेलोसहितको आगलागीका कारण वैशाख यता ४४ जना घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले दिएको जानकारीअनुसार दुई हप्तामा ७ सय ४४ घटना भएका छन् । जसमध्ये वन डँढेलोका घटना २ सय ८८ वटा भएका छन् । ४ सय ५६ स्थानमा डढेलो लागेको प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ ।

आगलागी र डँढलोका कारण एक महिनाको बीचमा पाँच सय दुई पूर्वाधारमा डँढेलो सहितको आगलागीले क्षति पुर्‍याएको छ । आगलागी र डँढेलोमा परी चारसय ५१ पशुचौपाया मरेको भट्टराईले जानकारी दिनुभयो ।

पानी नपरेकाले आगलागी र डँढेलो नियन्त्रणमा समस्या उत्पन्न हुँदा यसको समस्या देशव्यापी बन्न पुगेको छ । अझै एक साता पानी पर्ने सम्भावना छैन ।

मौसम विज्ञान विभागका अनुसार अबको एक साता पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम उच्च छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने पानी पार्ने प्रणाली यो साताभर विकास नहुने र तापक्रम बढ्ने भएकाले आगलागीबाट थप सचेत हुनुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.