रेशम चौधरी रिहा, पक्राउ गर्नु कर्मचारीको त्रुटी नभएर षड्यन्त्र भएको सिकेको टिप्पणी
बुधबार दिउँसो पार्टी एकता घोषणा सभा हुने स्थल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएको थियो ।
सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न तत्काल कारागार कार्यालयय डिल्लीबजारलाई पत्र पठाएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ । अनधिकृत पत्र लेख्नुहुने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।”
यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकता हुने बेलामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु षड्यन्त्र भएको बताउनुभएको छ ।
डिल्लीबजार कारागारबाट रेशम चौधरी छुटेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा राउतले यसलाई एकतालाई भाँड्ने षडयन्त्रको रुपमा हेरेको बताउनुभयो
दुईवटा पार्टी मिलेर नयाँ हुन लाग्दा त्यसलाई भाँड्नका लागि यो गरिएको बताउँदै यसलाई एउटा कर्मचारीको सामान्य त्रुटिको रुपमा मात्रै हेर्न नहुने पनि बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्