राजनीति

सर्वोच्च भन्छ- अडियो उपलब्ध गराउनेलाई किन कारवाही नगर्ने ?

सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित कान्तिपुर, अन्नपूर्ण पोष्ट र सर्वोच्च अदालतका न्यायाधीशसंग सम्बन्धित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनालाई ‘कारबाही किन नगर्ने’ भन्दै बयानका लागि बोलाउने निर्णय गरेका छ ।

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “प्रसारित अडियो सामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नु नपर्ने हो । त्यसरी कारवाही गर्नु नपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयान लिने काम शुक्रबार सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका बोलाइएको छ ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो/भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो ।

सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.