प्रदेशमधेश

लुकिछिपी भारतीय आगमन : प्रदेश नं २ मा कोरोनाको सन्त्रास

प्रदेश नं २ को वीरगञ्ज–३ स्थित छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सर्वसाधारणमा रोगको सन्त्रास बढेको छ । राष्ट्रिय सङ्क्रमण जनस्वास्थ्य प्रयोगशाला टेकुले सो व्यक्तिमा कोरोनाको पुष्टि गरेपछि अन्य व्यक्तिमा पनि रोगको सङ्क्रमण रहेको हुनसक्ने त्रास भएको छ ।

ती व्यक्तिले बसोबास गरेको क्षेत्रलाई ‘सिल’ गरी उनले सम्पर्क गरेका व्यक्तिहरूको खोजबिन गरी स्वाबको नमूना सङ्कलन गरिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ ।

कोरोना सङ्क्रमणबाट निको भएर ‘डिस्चार्ज’ भएका रौतहट जिल्लाको ईश्वरनाथ नगरपालिका–८ बस्ने १९ वर्षीय एक युवकमा कोरोनासँग मिल्ने खालको सामान्य लक्षण देखिएपछि उनलाई नारायणी अस्पतालमा पुनः भर्ना गरिएको छ । उनको स्वाब सङ्कलन गरिएको तर परीक्षणको रिपोर्ट नआएकाले अहिले नै कोरोना दोहरियो भन्न नमिल्ने स्पष्ट पार्दै उहाँले सो युवकसँगै डिस्चार्ज भएका एक ५५ वर्षीय भारतीय नागरिकको स्वास्थ्यमा केही समस्या देखिएपछि निजलाई पनि भर्ना जानकारी गराउनुभयो ।

यसैबीच महोत्तरी जिल्लाको भङ्गहार बर्दिवास नगरपालिकामा केही समयको अन्तरालमा १२ जनाको मृत्यु भएको सन्दर्भमा सचिव डा घिमिरेले अहिलेसम्म कोरोनाकै कारण मृत्यु भएको पुष्टि नभएको बताउनुभयो । भङ्गहा नगरपालिका–७ मा मृत्यु भएका ४० र ६० वर्षीय पुरुषको स्वाबको नमूनाको परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।

दुवै जनाको मृत्यु कोरोनाको सङ्क्रमणबाट नभई अन्य कारणले भएको उहाँले जानकारी गराउनुभयो । चालीस वर्षीय व्यक्तिले अत्यधिक मदिरा सेवन गरेपछि उनलाई गम्भीर अवस्था स्थानीय स्वास्थ्य संंस्थामा वैशाख १८ गते भर्ना गरिएको थियो । सोही दिन उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाबको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

त्यस्तै सोही वडाका ६० वर्षीय पुरुषको अत्यधिक पेट दुखेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

यस्तै सोही वडाका ५५ वर्षीया महिला र ५८ वर्षीय पुरुषको परीक्षणको रिपोर्ट आउन बाँकी छ तर हालसम्मको वस्तुस्थितिले हेर्दा उनीहरूको मृत्यु कोरोनाको कारणले भएको नदेखिएको उहाँले बताउनुभयो । सो नगरपालिका–७ का ४६ वर्षीय पुरुषले अत्यधिक मदिरा सेवन गरेपछि उनको अत्यधिक टाउको दुखेको थियो । मृत्युको सम्बन्धमा जानकारी नगराई परिवारका सदस्यहरूले दाहसंस्कार गरेको थियो ।

सोही वडाका ५० वर्षीय ग्याष्ट्रिक र अल्सरबाट पीडित भई बिरामी भएको कारणले मृत्यु भएको थियो भने अर्का ५० वर्षीय अर्का एक व्यक्ति एक महिनाअगाडि विषादी सेवन गरेको थियो । सोही कारणले बिरामी रहेको कारण उनको मृत्यु भएको थियो । बर्दिवास नगरपालिका–१२ मा भारत उत्तर प्रदेशका लखिमपुर बस्ने ५५ वर्षीय मृत्यु भएका व्यक्ति स्थानीय इँटाभट्टाको कामदार थिए ।

यस्तै सोही वडाको २६ वर्षीय एक युवक मिर्गाैलाको बिरामी रहेको र उनको उपचारका क्रममा मृत्यु भएको थियो । सोही वडाकी ५५ वर्षीय महिला उच्च रक्तचाप कारण मस्तिस्कघातबाट मृत्यु भएको थियो भने अर्का ५६ वर्षीय पुरुषको पनि मृत्यु कोरोनाका कारण नभएको प्रारम्भिक रिपोर्टबाट देखिएको प्रदेश सचिव डा घिमिरेले बताउनुभयो ।

महोत्तरी भङ्गहा नगरपालिका–७ मा विशेष स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य विभाग काठमाडौँका प्रतिनिधिका साथै प्रदेशका समाजिक विकास मन्त्रालयका प्रतिनिधि तथ्याङ्क सङ्कलन लगायतका कार्य गरिरहेका छन् । उक्त स्थलमा स्वाब सङ्कलनका साथै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यस प्रदेशमा हालसम्ममा दुई हजार ४३३ जनाको स्वाबको नमूना सङ्कलन भएको छ । सोमध्ये दुई हजार ९० जनाको रिपोर्ट नेगेटिभ र ३३० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.