मनसुन सुरु नहुँदै बाढी र पहिरो, जनजीवन प्रभावित
यस वर्षको मनसुन सुरु नभए पनि वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ, यातायात अबरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको छ ।
सवारी साधन आवत–जावत गर्न बागमती नदीमा बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ मा बागमती नदीमा बनाइएको डाइभर्सन बाटो बगाएपछि आइतवार बिहानदेखि यातायात अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले प्रहरी टोलीले अवरुद्ध बाटो खुलाउने पहल गरिरहेको बताउनुभयो ।
प्रशासनले यसअघि कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी दिएको थियो ।
निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्दा सुरक्षित भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्