राजनीति

“रवीन्द्रको अनुहारमा मुलुकको विकास र समृद्धि झल्कन्थ्यो”

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी विकासको संवाहक साथै एक दूरदर्शी नेताको रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताहरूले चर्चा गरेका छन् ।

अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा वैशाख २२ गते बुधबार पोखरामा आयोजित ‘विकास समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीमा वक्ताहरूले अधिकारीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै विकासप्रति स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रूपमा चित्रण गरेका हुन् ।

अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेसनका अध्यक्ष एवं सफल व्यवसायी आनन्दराज वतासले विकास र राजनीतिका विषयमा आफ्नो दृष्टिकोण राख्दै भौतिक र प्राविधिक कुराले मात्रै विकास र समृद्धि नल्याउने जनाउँदै आध्यात्मिक विकासको खाँचो औंल्याउनुभयो ।

उहाँले नेतामा इमान्दारिता र नैतिकताको खडेरी परिरहेको जनाउँदै विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको र स्व. अधिकारी दिगो विकासको मोडलमा आफूलाई उभ्याएर अघि बढ्दै गरेको एक इमान्दार र नैतिकवान नेताको रूपमा रहेको चर्चा गर्नुभयो ।

अर्का वक्ता प्राध्यापक डा. भरतराज पहारीले विकासलाई चेतनासँग जोड्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय मानिसमा आत्मिक सम्बन्धमा संकट आएको उल्लेख गर्दै मानिस बेखुसी देखिन थालेकाले भौतिक सुखले मात्र विकास र समृद्धिको मापन गर्न नसक्ने तर्क गर्नुभयो ।

विकास गन्तब्य नभई हरेक चरणमा परिवर्तन भइरहने एक प्रक्रियाका रूपमा लिनुपर्ने र मानव जीवनलाई अनुभूति हुने कुरानै विकास र समृद्धि भएको धारणा राख्नुभयो ।

उहाँले अधिकारीमा राजनीतिक संस्कार र चेतनालाई मिलाएर लानसक्ने विशिष्ट गुण रहेको उल्लेख गर्दै अधिकारीको अभावलाई पूरा गर्न उनले देखाएको विकास र समृद्धिको बाटो पछ्याउन जरुरी रहेको बताउनुभयो ।

अर्का वक्ता पोखरा महानगरपालिका सहरी विकास आयोजनाका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले अधिकारीमा विकासको हुटहुटी निकै रहेको जनाउँदै दिगो विकासको बारेमा निरन्तर संवादमा रहने गरेको स्मरण गर्नुभयो ।

युवालाई राजनीति प्रति प्रेरित गर्न सक्ने र दिगो विकासप्रति अध्ययन गर्न सक्ने क्षमता अधिकारीमा रहेको चर्चा गर्दै राजनीतिक नेतामा विकासप्रतिको स्पष्ट धारणा र कार्यान्वयको क्षमता कम हुँदा ६० प्रतिशत विकास बजेट खर्च हुन नसक्नु दुर्भाग्य भएको टिप्पणीसमेत गर्नुभयो ।

अर्का वक्ता राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले रवीन्द्र अधिकारीको अनुहारमा समृद्धि झल्कने गरेको बताउनुभया । झाले एक ऊर्जाशील र प्रतिबद्ध नेताका रूपमा अधिकारीको स्मरण गर्दै व्यक्तिगत रूपमा धेरै भेटघाट नभए पनि राष्ट्रिय योजना आयोगमा उहाँको गतिशीलता र बौद्धिकताको चर्चा हुने गरेको बताउनुभयो ।

विकास र समृद्धिलाई नै आफ्नो परिचय बनाउन सफल रवीन्द्र अधिकारी सबैका विश्वास र भरोसा गरेको राजनेताका रूपमा रहेको जनाउँदै झाको सिद्धान्तलाई अवलम्बन गरेर विकासको बाटोमा लाग्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा अधिकारीका सहकर्मी एवम् राजनीतिक विश्लेषक झलक सुवेदीले रवीन्द्र अधिकारी स्मृति ग्रन्थको बारेमा चर्चा गर्दै पुस्तकमा अधिकारीलाई जीवनमा विभिन्न मोडमा संगत गरेका सहकर्मी, सहपाठी, विद्यार्थी आन्दोलनदेखि सिंहदरवारसँग जोडिएका विषय समावेश भएको र नेपाली राजनीतिको ४० वर्षे कालखण्डको एउटा सशक्त दस्तावेज भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य कृष्ण थापाले राजनीतिमा विकास प्रेमी नेता रवीन्द्र अधिकारीको अभाव खड्केको बताउनुभयो । प्रतिष्ठानका महासचिव धनराज आचार्यले विकासको पर्यायवाची नाम बनेको नेता अधिकारीको भौतिक उपस्थिति नभए पनि उहाँको सिद्धान्तलाई अवलम्बन गरेर विकासको बाटोमा अघि बढ्नुपर्ने धारण राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवम स्वर्गीय अधिकारीका जीवन संगिनी विद्या भटराईले रवीन्द्र अधिकारीले समृद्ध नेपालका लागि देखेको योजनाहरूलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेकाको बताउँदै विभिन्न आयामबाट रवीन्द्र अधिकारीको बारेमा चर्चा गरेर उहाँको गतिशिलता र क्षमतालाइ विश्लेषण गर्ने वक्ताहरू प्रतिआभार व्यक्त गर्नुभयो ।

भर्चुअल विचार गोष्ठीमा देश विदेशबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गरेका व्यत्तिहरूको उपस्थिति थियो । यसअघि प्रतिष्ठानले पोखरा– १८ सराङकोट स्थित सहिद तथा राष्ट्रिय विभुतिपार्कमा रहेको स्व. रवीन्द्र अधिकारीको शालीकमा माल्यार्पण सहित कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.