जन सरोकार

चितुवासंग कुस्ती खेलेरै मारिदिए कुमाल दाजुभाइले

तनहुँमा केही समययता चितुवाको आक्रमणबाट आधा दर्जन बढी बालबालिकाको ज्यान लिइसकेको छ । तर बुधबार राति भने ज्यानमारा चितुवाकै ज्यान लिए कुमाल दाजुभाइले ।

घटना हो तनहुँ भानु गाउँपालिका ४ को । वैशाख पूर्णिकाका लागि भनेर किनेर ल्याएको कुखुरा चोरी भएपछि खोज्दै जाँदा नरसंहारकारी चितुवाको फन्दामा परेका रामबहादुर कुमारले दाजु भरतको सहायताले आधा घण्टासंम चितुवासंग कुस्ती खेलेर मारिदिए ।

अहिलेसम्म स्थानीयले ७ वटा चितुवालाई खोरमा पारेका छन् । बुधबार राति मारिएको सहित यस क्षेत्रमा चारवटा चितुवा स्थानीयले मारेका छन् ।

घटना विवरण यस्तो छ-

वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे ।

उनका दाजु भरत पनि उठे र हल्लाखल्ला भयो । कुखुरा चोरेर लैजादै गरेको मान्छे देखेपछि उनीहरु पछि पछि लागे । भरतका छोराहरू टीकाराम, गंगाराम, दीपेन्द्र र रामबहादुरका १३ बर्षका छोरा समीर पनि उठेर बाबुहरुको पछि दौडिए । केही पर खोल्सामा पुगेपछि कुखुरा चोरहरु कता भागे पत्तो भएन ।

लगत्तै खोल्सा नजिक पुगेका रामबहादुरका छोरा समीरलाई चितुवाले आक्रमण गर्‍यो । रामबहादुरले छोरा जोगाए । तर, चितुवाले रामबहादुरमाथि नै आक्रमण गर्‍यो । रामबहादुरको हात नै चितुवाको मुखभित्र पर्‍यो । भाइलाई चितुवाले लडाएको देखेपछि दाइ भरत चितुवामाथि जाइलागे । चितुवामाथि घोडा चढेर न्याके त्यसपछि छोराहरुलाई ढुंगा ल्याउन भने ।

भरतले चितुवालाई न्याके । छोराहरुले ढुंगा र लाठीले लगातार प्रहार गरे । जसोतसो गरेर चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चितुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकालेँ, चितुवाले भाग्न निकै बल गरिरहेको थियो, जोडले अठ्याएर मार्‍यौं’ भरतले भने ।

चितुवा र उनीहरुका बीचमा झण्डै आधा घण्टाभन्दा बढी समय घम्साघम्सी चल्यो । रामबहादुर नेपाली सेनाबाट निवृत्त भएका हुन् । दाजु भरत र उनका छोराहरु कृषि काम नै गर्छन् । घाइते भएका रामबहादुरको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको हातको एउटा औला भाँचिएको छ ।

अन्दाजी १५ किलो तौल र करिब ३ वर्षको पोथी चितुवालाई उनीहरुले मारेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । मृत चितुवा डिभिजन वन कार्यालय दमौली ल्याइएको छ ।

तनहुँको भानु नगरपालिकाको वडा नं. १, २, ३ र ४ बढी चितुवा प्रभावित क्षेत्रमा पर्दछ । यहाँ विगत तीन बर्षदेखि चितुवाको आतंक छ । भानुबाहेक आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका क्षेत्रमा पनि चितुवाले बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.