जेठ २ गते आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुने

संघीय संसदको अधिवेशन वैशाख २६ गतेबाट आव्हान गरिएको छ र बैठक आरम्भसंगै सरकारले जेठ २ गते आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संसद सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।
सरकारको तर्फबाट संघीय संसदका दुवै सदनको सयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल हुने भएको छ । प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ । राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेश गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ । कोरोना प्रकोपका कारण संसद अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई केही पछाडि धकेलिएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार छलफल गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ । संसद सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले नीति तथा कार्यक्रम जेठ २ गते प्रस्ततु हुने बताउनु भयो ।