राजनीति

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीसहित १४ जनाबाट तीन अर्ब ६५ करोड बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारको अनुसन्धानपछि तेस्रोपटक थप पूर्वमन्त्री सहित उच्च अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेको छ ।

बिहिबार अख्तियारले भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित सचिव लगायत १४ जना उच्च पदस्थ अधिकारीहरुविरुद्ध तीन अर्ब ६५ करोड बिगो दाबी मुद्दा दायर गरेको हो ।

अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर आरोपपत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो ।

तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

यसै गरी अख्तियारले चिनियाँ निर्माण कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ । अख्तियारले गत २१ मंसिरमा पाँचजना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको थियो भनेन आज बिहिबार तेस्रो मुद्दा दायर गरेको हो । अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै अनुसन्धान गर्दै चरणबद्ध रुपमा मुद्दा दायर गर्ने जानकारी दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.