संवैधानिक परिषद्को बैठक सुरु, प्रधान न्यायाधीशमा कसलाई सिफारिश होला
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बैठक सुरु भएको हो ।
परिषद् सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ । सर्वोच्च अदालतमा लामो समयदेखि कायम नेतृत्व रिक्तता अन्त्य गर्न परिषद्ले नाम सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनुहुन्छ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।
न्याय परिषद्ले २६ फागुनमा भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।





प्रतिक्रिया राख्नुहोस्