खेलविविध

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधाअन्तर्गत मनोनयनमा परेका ती खेलाडीको नाम सार्वजनिक गरेको हो ।

‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह पर्नुभएको छ । त्यसैगरी ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ पर्नुभएको छ ।

‘उदीयमान खेलाडी’ तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा पर्नुभयो भने ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी पर्नुभएको छ ।

हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले मनोनयनमा परेकाहरूको नामावली सार्वजनिक गर्नुभएको हो । मञ्चका अध्यक्ष एमबी आस्था मगरले विगत एक वर्ष अवधिमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शनका आधारमा उत्कृष्टभित्र पर्नेको नाम सार्वजनिक गरिएको बताउनुभयो ।

यसैगरी मञ्चले ‘वर्ष उत्कृष्ट खेल सङ्घ’का रूपमा कास्की जिल्ला क्रिकेट सङ्घ र ‘वर्ष उत्कृष्ट खेल पत्रकार’का रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ ।

यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत छन् । पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहनुभएको छ ।

मञ्चले गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डलाई निरन्तरता दिएको हो ।

मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक/एक थान स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

“पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरुलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ”, मञ्चका अध्यक्ष मगरले भन्नुभयो ।

विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिनुभयो ।

विसं २०५७ मा कास्कीमा स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.