आमजनतामा कोरोनाभन्दा भोक र मानसिक समस्या डरलाग्दो
अनेकथरि कृत्रिम समस्या देखाएर अरु त्रस्त बनाउने काम बन्द हुनुपर्ने
नेपालमा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ र संगै निको हुन, बिरामी हुने र मृत्यु हुनेको संख्या पनि अघिल्लो वर्षकोभन्दा बढेको छ दैनिक रुपमा । तर, यो पाटोको जति प्रचार प्रसार गरिन्छ त्यसको अर्को पाटो- निको हुने र मृत्यु हुनेको दरलाई केलाइएको पाइँदैन । आम जनतामा मानसिक त्रास मात्र फैलाउने गरी एकोहोरो प्रचार भैरहेको छ ।

दुई साता यता नेपालमा संक्रमितको संख्याले दैनिक नयाँ रेकड राखिराखेको सत्य हो । यसले गर्दा आम सर्वसाधारणमा नयाँ समस्या उत्पन्न भएको छ । उनीहरुमा रोगलेभन्दा भोक र शोकले गाँजेको छ । रोजगारीका लागि विदेशमा गएका आफ्नो परिवारका सदस्यको खोजखबर नहुँदा घरमा बस्नेहरुलाई भोक, रोग र शोक तीनै पक्षले गाँजिरहेको छ । कोरोना संक्रमणको विकरालतासंगै कसरी मानसिक समस्या फैलिइरहेको छ ?
घटना र वास्तविकताको तथ्य आम नागरिकसम्म पुग्न नसकेकै कारण अहिले घरघरमा मानसिक समस्या उत्पन्न हुन थालेको छ । संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा कोरोना संक्रमण, बिरामी र मृत्युका भयावह शब्दचित्र प्रस्तुत गरिंदा आम सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ । यो त्रासले थप मानसिक समस्या उत्पन्न गरिरहेको छ ।
संक्रमण रोकथामका लागि भैरहेको निषेधाज्ञाले आयआर्जनको बाटो बन्द भएपछि दैनिक गुजाराको समस्या परिरहेकाहरुमा बाँच्नै नसकिने स्थिति उत्पन्न भैसकेको, सबै सकिने भयो भन्ने शैलीमा सूचना प्रवाह भैरहँदा कोरानाको नाममा मानसिक समस्या बढिरहेको छ । जनतामा रोगबाट कसरी बच्ने भन्ने चिन्ता थपिइरहेकै बेला अनेकथरि कृत्रिम समस्या देखाएर अरु त्रस्त बनाउने काम बन्द हुनुपर्ने आम सर्वसाधारणलाई मनोपरामर्श दिनुपर्न मनोविज्ञहरुको सुझाव छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डाक्टर मोहन बेल्वासे कोरोना महामारी बढेपछि समाजमा मनोसामाजिक समस्या पनि बढेको बताउँदै मानसिक समस्यामा रहेका व्यक्तिहरूको समयमै उपचार गरिएन भने पछि झन् जटिलता आउनसक्ने चेतावनी दिनुहुन्छ ।
उहाँको अनुभवमा अघिल्लो वर्षदेखि कोरोना महामारी फैलिएपछि मानसिक रूपमा अस्वस्थ व्यक्तिहरू दोब्बर बढेका छन् । कोरोना महामारी अघि दैनिक ३० को हाराहारीमा मानसिक रूपमा अस्वस्थ बिरामीको जाँच गर्ने उहाँ महामारी फैलिएपछि अहिले दैनिक ६० देखि ८० जनासम्म बिरामी हेर्ने गरेको बताउनहुन्छ ।
मानसिक समस्या अहिले शहरी क्षेत्रको तुलनामा ग्रामीण र विकासका दृष्टिले कम सुविधा भएका क्षेत्रहरुमा बढी देखिएको छ । विशेष गरी हातमुख जोर्नकै लागि परदेशिनुपर्ने बाध्यतामा रहेका क्षेत्रका बासिन्दामा आफू बाँच्ने कि मर्ने र विदेशमा रहेका आफ्ना पालनकर्ताको अवस्थाले पनि उनीहरुमा मानसिक समस्या बढाइरहेको छ । उनीहरुलाई कोरोना भाइरसले संक्रमित नगरे पनि यसको सहउत्पादनका रुपमा मानसिक समस्या बढिरहेको छ ।
डाक्टर बेल्वासेका अनुसार अहिले उपचारमा आउने मानसिक रूपमा अस्वस्थ अधिकांश बिरामीमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएका, आर्थिक सङ्कटमा परेका, बेरोजगार भएर सबैजना घरमै बस्दा अशान्ति बढेको आदि कारणले मानसिक समस्यामा वृद्धि भइरहेको छ ।
सरकारको गैरजिम्मवापनले सीमा नाघेको छ । खोप खरीदमा कमिशन नमिलेर आयात गर्न नसकिएको तथ्य उजाग भैसकेको छ । कमिशनखोरहरु छाती फुलाएर हिंडिरहेका छन् । तर सरकार उनीहरुलाई छुन समेत सक्दैन भने जनतामा त्रास बढ्नु र मानसिक समस्या उत्पन्न हुनु स्वाभाविक हो । राज्य छ कि छैन भन्ने प्रश्न अहिले उठेको छ ।
अर्कोतिर यी समस्याहरु समाधानका लागि मुलुकको तीनै तहका सरकारहरु सक्रियतापूर्व लाग्नुपर्नेमा । संघदेखि स्थानीय निकायसम्म राजनीतिक विभाजन, कारबाही, पद जोगाउने र मिल्काउने खेल चलिरहेको छ । राजनीतिक नेतृत्व आफ्नै बचाउमा लागिरहँदा जनताा रोग, भोक र शोकले जीवन गुमाउन बाध्य हुनुपर्ने अवस्थाको सिर्जना भैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्