विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, ५५८१ जनासंक्रमित, दुई हजारभन्दा बढी निको
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विभिन्न देशमा रहेका ७८ जना नेपालीको मृत्यु भएको छ । यसै गरी अहिलेसम्म पाँच हजार ५ सय ८१ जना संक्रमित भएका छन् भने संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु निको भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ ।
समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक(एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।
कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एकएकजना थपिएका छन् । डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
डा। सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । तर यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको छ ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी स्पेन र अष्ट्रेलियामा १२ १२ जना तथा जापान र क्यानडामा १० १० जना नेपाली संक्रमित छन् ।
यसैगरी बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४-४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ भने साइप्रस र न्युजिल्याण्डमा ३-३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २-२ जना तथा म्यानमार र फ्रान्समा १-१ जना रहेका छन् ।
राहत वितरण र स्वंसेवक परिचालन
यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्रमा १ हजार ६ सयभन्दा बढी स्वंसेवकहरु राहत वितरणमा सकृय छन् ।
३५ हजारभन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहत सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधि आदि) प्राप्त गरेको संघले जनाएको छ ।
एनआरएनएले बिभिन्न देशमा संचालित २४ सै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीहरुले वन टु वन परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगार, नेपाल फर्किने आदि) प्रदान गरेको गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्