जन सरोकार

तत्काल दुईलाख नेपाली स्वदेश ल्याउनुपर्ने- क्वारेन्टाइन क्षमता जम्मा ३५ हजार

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेकामध्ये करीब ६ लाख नेपालीको रोजगारी गुम्ने अनुमान सरकारको छ । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले रोजगारी गुमेर नेपाल फर्कने नेपालीको सङ्ख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने अनुमान गरेको बताउँदै तीमध्ये खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान रहेका र तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या दुई लाख १० हजार ८ सय ७१ जना रहेको जानकारी दिनुभएको छ ।

यति ठूलो संख्यामा नेपाली स्वदेश फर्कने अवस्था भए पनि नेपालमा हाल जम्मा ३५ हजार क्वारेन्टाइन मात्र रहेकाले फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ । स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् । एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । उहाँ भन्नुहुन्छ, “एकैपटक ठूलो सङ्ख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।”

रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसङ्ख्याका १५ प्रतिशत जनसङ्ख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् ।

१२ मुलुकमा मात्र श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९२४ रहेको छ । विभिन्न माध्यमबाट वैदेशिक रोजगारीमा र घरमा काम गर्न गएकाहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.