वीरगञ्जबाट उपचार गरिरहेका दुईजना संक्रमित फरार, बुटवल कोरोना अस्पताल भरियो
पछिल्लो समय सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका दुई जना कोरोनाभाइरस संक्रमित फरार भएको समाचार छ ।
अस्पताल स्रोतका अनुसार अस्पतालको आइसोलेसन कक्षबाट बुधबार राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएका हुन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।
पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
उता कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ ।
धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन शय्या ९बेड० बनाइएको थियो । अहिले सबै बेड कोरोना संक्रमितले भरिएका छन् । रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका बिरामी भर्ना भएका हुन् ।
भवन बाहिर टेन्टमा १४ बेड बनाइएको छ । तर सर्पदंशको डर र वर्षायाम शुरु हुन थालेकाले त्यहाँ बिरामी नराखिने भएको छ । अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले नयाँ बेड तयार नहुँदासम्म यहाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताउँदै भवनबाहिर खुला चौरमा १४ बेड रहे पनि बिरामी नराखिने जानकारी दिनुभएो छ ।
बेडको अभाव भएपछि धागो कारखाना परिसरमै अर्को भवनमा दुई सय बेड थप्ने निर्णय भएको छ । सवै प्रक्रिया पूरा गरेर आवश्यक पुर्वाधार र जनशक्ति थप गर्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ ।