शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना कहर- चिकित्सक, नर्स लगायत ३८ जना क्वारेन्टाइनमा
राजधानी उपत्यकामा कोरोना भाइरस संक्रमण प्रतिदिन फैलदै छ । कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएकी एक बालिकामा कोरोना देखिएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।
उता नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।
प्रतिक्रिया राख्नुहोस्