जन सरोकार

उपत्यकामा दिइएका सबै पास रद्द, जिल्लाभित्रै पनि आवतजावतमा रोक

काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या वृद्धि हुन थालेपछि सरकारले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरेको छ । यसअघि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो ।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास बिहिबारदेखि खारेज गरिदिएको बताउँदै ७७ जिल्लाले जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको जानकारी दिनुभएको छ ।

अब पास खारेज गरिएकोले काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान मिल्दैन । काठमाडौं उपत्यकामा बिहीबार दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै आवतजावतमा कडाई गरिएको छ ।

कोरोना संक्रमित संख्या वृद्धि हुन थालेपछि गृहले बिहीबार उपत्यकाभित्रका तीनै जिल्लाका सुरक्षा प्रमुख, मेयरहरू, प्रमुख जिल्ला अधिकारीहरू, ट्राफिक प्रहरी प्रमुखलगायतसँग छलफल पनि गरेको थियो । छलफलपछि लकडाउनलाई थप कडाइ गरेर जानुपर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । जसअनुसार बिहिबारदेखि उपत्यका भित्रने र बाहिरिने नाका र भित्री सडकमा पनि सुरक्षाकर्मीले चेकजाँचलाई तीव्रता दिनेछन् ।

गृह मन्त्रालयका अनुसार परिचय पत्र भएका पत्रकारलाई आवागमनमा समस्या हुने छैन । एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन, ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.