कामपाका ३१ कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ, पिसिआर परीक्षणको तयारी
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै विस्तार गरिएको परीक्षणका क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

आडिटी परीक्षणमा पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको संक्रमण यकिन गर्न थप पिसिआर परीक्षण गर्ने तयारी गरिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताउनुभएको छ ।
पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन् । जसमा चालकहरू समेत छन् । शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएको हो । जसमा ६ सय ६४ जनको र्यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको हो ।
सरकारले उपत्यकामा १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने जनाएको छ । उपत्यकामा समेत कोरोना संक्रमणको जोखिम बढेपछि धेरै मानिसहरूको भीडभाड हुने ठाउँमा कोरोनाको परीक्षण सुरु गरिएको हो । बिहीबार मात्रै कालिमाटी तरकारी बजारमा ७ सय बढी मानिसको परीक्षण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्