स्वास्थ्य

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु, एक वर्षमा मृतकको संख्या तीनगुणा बढी

वैशाख महिनामा १०,११४ जनामा संक्रमण, ६४७० जना कोरोना मुक्त

कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त बाँकेमा अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको शनिबार बिहान मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं १० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

बाँकेमा कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा झण्डै तीन गुणा बढी मानिसको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार २०७७ साल वैशाख १९ गतेदेखि चैत मसान्तसम्म कोरोनाको पहिलो लहरबाट बाँके जिल्लाका मात्रै ५८ जना संक्रमितको मृत्यु भएको उल्लेख छ ।

तर २०७८ वैशाख १ गतेदेखि ३१ गतेसम्म एक महिनाको अवधिमा १६७ जनाको मृत्यु भएको छ । जुन पहिलो लहरको तुलनामा मृत्यु हुने संक्रमितको संख्या झण्डै तीन गुणा हो ।

कोरोनाको पहिलो लहरमा बाँकेमा उपचार गराउन आएका बाहिर जिल्लाका ९१ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । तर यो वर्षको पहिलो एक महिनामा बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका संक्रमित मध्ये ७५ जनाको मात्रै मृत्यु भएको उनले बताए । कोरोनाको दोस्रो लहरमा मृत्यु हुने संक्रमितको संख्या बाँके जिल्लाकै बढी रहेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनाको हरेक दिन संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

वैशाख १ गते ११ गतेसम्मको रेकर्डलाई हेर्ने हो भने मृत्यु हुने संक्रमितको संख्या एक अंक ९अर्थात सबै भन्दा बढी ६ जना० छ । वैशाख १२ गतेदेखि भने मृत्यु हुनेको संख्या बढ्दै गएको देखिन्छ । वैशाख १२ गते १० जनाको मृत्यु हुँदा वैशाख १६ गते यो संख्या बढेर १२ पुगेको देखिन्छ ।

यसैगरी वैशाख २३ गते १६ जनाको मृत्यु हुँदा वैशाख २६ गते १७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वैशाख २८ गते सबैभन्दा बढी १८ जना संक्रमितको मृत्यु भएको देखिन्छ । वैशाख ३१ गते शुक्रबार १५ जना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेका अनुसार अस्पताल आउने अधिकांश स‌क्रमितले बेड अभावमा समयमै उपचार पाउन नसक्दा मृत्यु हुने गरेको बताउँछन् ।

अस्पतालमा बेड अभाव हुँदा ठूलो संख्यामा संक्रमितहरु होम आइसोलेसनमै बस्ने गरेको र निमोनिया भएर गम्भीर भएपछि मात्रै अस्पताल आउने गरेका कारण पनि मृत्युको संख्या बढेको डाक्टर पाण्डेको भनाइ छ ।

पहिलो लहरमा अस्पतालले चाप नै धान्न नसक्ने गरी संक्रमितको उपचार गराउनु पर्ने अवस्था नआएको र अस्पताल आइहाले पनि अहिलेको जस्तो गरी अनिवार्य अक्सिजन दिनु पर्ने अवस्था पनि नरहेको उनी स्मरण गर्छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनामा १०११४ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । जसमध्ये ६४७० जना कोरोना मुक्त भएका छन् । फोकल पर्सन ओलीका अनुसार बाँकेमा सक्रिय कोरोना संक्रमितको संख्या ३६७५ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.