एन आर एन न्युजजापान

नेपाल फेस्टिभल सम्बन्धी भ्रामक प्रचारप्रति एनआरएनए जापानको आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा आयोजना हुँदै आएको “नेपाल फेस्टिभल” सम्बन्धमा सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा निराधार सामग्रीहरू प्रकाशित एवं प्रसारित भइरहेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

एनआरएनएले एक विज्ञप्ति जारी गरी नेपालको मौलिक कला, संस्कृति, भाषा, पर्यटन, पहिचान तथा जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई लक्षित गर्दै अपुष्ट सूचना, भ्रामक टिप्पणी तथा व्यक्तिनिष्ठ आरोप–प्रत्यारोप सार्वजनिक गरिनु अत्यन्त दुःखद र खेदजनक विषय भएको बताएको छ ।

सामाजिक सञ्जाल आधुनिक सञ्चारको प्रभावकारी माध्यम भए तापनि यसको गैरजिम्मेवार तथा दुरुपयोगपूर्ण प्रयोगले व्यक्ति, संस्था र समग्र समुदायमै नकारात्मक असर पर्नेतर्फ सचेत गराउँदै एनआरएनएले जापानले आधिकारिक पुष्टि बिना समाजलाई भ्रमित पार्ने काम नगर्न अनुरोध गरेको छ ।

विज्ञप्तिमा आपसी अविश्वास सिर्जना गर्ने तथा सामाजिक सद्भावमा असर पुर्‍याउने किसिमका गतिविधिहरूले स्वस्थ समुदाय निर्माणमा बाधा पुग्ने भएकाले यस्ता कार्य नगर्न, नगराउन सम्पूर्णमा हार्दिक आग्रह गरिएको छ ।

एनआएनए जापानका प्रवक्ता रवीन शर्माद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै हामी सबैले सामाजिक उत्तरदायित्व, सभ्यता र मर्यादालाई समेत आत्मसात गर्नु आवश्यक रहेको औंल्याउँदै तथ्यहीन प्रचार, चरित्रहत्या, भ्रम फैलाउने उद्देश्यले गरिने अभिव्यक्ति र सामाजिक सञ्जालको दुरुपयोग कुनै पनि दृष्टिकोणले उचित मान्न नसकिने बताइएको छ ।

कुनै विषयमा जिज्ञासा, गुनासा वा असमझदारी भए सम्बन्धित आयोजक, संस्था वा जिम्मेवार निकायसँग प्रत्यक्ष सम्पर्क गरी सत्यतथ्य बुझ्न अनुरोध गर्दै अपुष्ट सूचना र अफवाहको पछि नलागी सामाजिक एकता, सद्भाव, पारस्परिक सम्मान तथा सकारात्मक वातावरण कायम राख्न सहयोग पुर्‍याइदिनुहुन जापानस्थित सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.