आजदेखि सडकमा निस्किए पक्राउ गरिने, सबै सवारी पास रद्द (पूर्ण जानकारीसहित)
सरकरले लकडाउनको अवधि थपेको पछिल्लो अवधि सकिन दुई दिन बाँकी रहँदा यसको पालनामा निकै कडाई गर्न थालेको छ । गत आइतबारदेखि केही दिन लकडाउन खुकुलो बनाएर कार्यालय खुला तथा आवतजावत केही सहजता थपेसंगै उपत्यकामा कोरोना संक्रमित भित्रिएपछि लकडाउन पालनामा कडाई गरिएको हो ।
सरकारले पछिल्लोपटक थपेको लकडाउनको अवधि जेठ ५ गते सकिंदैछ । यसबीचमा शनिबारबाट सर्वसाधारणलाई मूल सडकमा मात्र हैन गल्लीमा पनि निस्कन नदिने र निस्किएमा पक्राउ गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सूचना जारी गरेको छ ।
शुक्रबार जारी गरिएको सूचनामा अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो ।
त्यसै गरी प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।
एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।
प्रतिक्रिया राख्नुहोस्