विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य गरेको फेला परेको हो । ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो निवेदन परेकाले शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्थ सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ ।
कार्यालयले शुक्रबारै एक सूचना जारी गरी ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए कार्यालयमा निवेदन दिन पनि आग्रह गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्