राजनीति

“विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपाको दुई तिहाई आयो” : खड्का

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनकै कारण नेपाली कांग्रेस कमजोर बनेको दाबी गर्दै त्यसको प्रत्यक्ष फाइदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको बताउनुभएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेस ३८ सिटमा सीमित हुनु र रास्वपा दुई तिहाइ नजिक पुग्नु विशेष महाधिवेशनपछि उत्पन्न आन्तरिक विभाजन, अविश्वास र नेतृत्व संघर्षको परिणाम भएको खड्काको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो । त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो।’

शनिबार नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनको नाममा भएको अस्वाभाविक शक्ति संघर्षले कांग्रेसको संगठनात्मक आधार कमजोर बनाएको बताउनुभयो ।

पछिल्लो समय देशभर देखिएको जेनजी आन्दोलन, परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र नयाँ पुस्ताको राजनीतिक विकल्प खोज्ने प्रवृत्तिलाई पनि उनले कांग्रेस कमजोर हुनुको एउटा प्रमुख कारणका रूपमा खड्काले व्याख्या गर्नुभयो ।

खड्काले कांग्रेसभित्रको आन्तरिक किचलो र शीर्ष नेताहरूबीचको अविश्वासका कारण युवापुस्तामा पार्टीप्रतिको भरोसा घट्दै गएको उल्लेख गर्दै त्यसको प्रत्यक्ष लाभ रास्वपालाई पुगेको पनि बताउनुभयो ।

उहाँका अनुसार विशेष महाधिवेशनलाई लिएर लामो समयसम्म चलेको विवाद, अदालतसम्म पुगेको नेतृत्व परिवर्तनको मुद्दा र त्यसपछि पनि पार्टीभित्र कायम असहज अवस्थाले कांग्रेसलाई संगठनात्मक रूपमा विभाजित बनाएको थियो ।

यसै गरी पूर्व कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि कटाक्ष गर्दै सिंगो पार्टीको नेतृत्व गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो, “गगनजी सिंगो कांग्रेसको सभापति बन्नुपर्ने हो, तर उहाँ सानेपाको मात्रै सभापति जस्तो देखिनुभयो ।”

खड्काले कांग्रेसको इतिहास स्मरण गर्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका कारण पार्टी फुटेको र फेरि उहाँकै पहलमा एकीकरण भएको प्रसंग उल्लेख गर्दै अहिले पनि पार्टीलाई जोगाउने वा विभाजनतर्फ धकेल्ने दुवै जिम्मेवारी वर्तमान नेतृत्वकै काँधमा रहेको बताउनुभयो ।

सम्बोधनका क्रममा खड्काले भन्नुभयो, “मैले केही दिनअघि सभापति र उपसभापतिहरूसँगको छलफलमा पनि भनेको छु, पार्टी विभाजनको डिलमा छ । त्यो बाटोमा जानु हुँदैन । पार्टी मिलाउने कि फुटाउने, त्यो जिम्मा तपाईंहरुकै हो ।”

विशेष महाधिवेशनको विषय अदालतसम्म पुगेपछि नेतृत्व परिवर्तनलाई वैधानिकता प्राप्त भएको स्वीकार गर्दै उहाँले आफूहरूले पनि त्यसलाई मानेको तर अब नेतृत्वले गुटभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिनुभयो ।

पछिल्लो समय कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र संगठन पुनर्संरचनाबारे तीव्र बहस चलिरहेका बेला खड्काको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेष गरी जेनजी आन्दोलनले स्थापित राजनीतिक दलहरूमाथि तीव्र दबाब सिर्जना गरिरहेका बेला कांग्रेसभित्र युवा नेतृत्व उदय गराउने प्रयास भए पनि शीर्ष तहमा पुराना नेताहरूको अनिच्छा, शक्ति सन्तुलनको राजनीति र गुटीय प्रतिस्पर्धाका कारण सहज संक्रमण हुन नसकेको आरोप पार्टीभित्रै उठ्दै आएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसभित्रको आन्तरिक अस्थिरता, नेतृत्व परिवर्तनको असहज प्रक्रिया र जनतामा बढ्दो निराशाले वैकल्पिक शक्तिहरूलाई बलियो बन्ने अवसर दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.