अर्थकृषि

सूर्यविनायक नगरपालिकाद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ ।

सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा शनिबार यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन् ।

स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाटबजार गत साता वडा नं ४ को दक्षिण बाराहीमा र सनिबार गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिबार वडा नं ९ चित्तपोलमा र त्यसपछि वडा नं ८ को सिपाडोलमा सञ्चालन गरी पहिलो चरणको घुम्ती हाटबजार सम्पन्न गरिने छ ।”

हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा शनिबार ३० वटा स्टल राखिएको थियो ।

स्टलमा स्थानीय उत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरू, कृषिको बीउबिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका विभिन्न परिकार राखिएको थियो ।”

वडावासीले मात्रै नभई नगरपालिकाभित्रका विभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरूले शनिबार एकै दिन पाँच लाखभन्दा बढीको सामान बिक्री गरेको र सबैले हाटबजारलाई हरेक साता निरन्तरता दिनुपर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले हाटबजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाटबजार सञ्चालन कार्यविधि स्वीकृत गरी सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समीक्षा गरी वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्नेगरी तयारी गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.