पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारत उडान
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ ।
श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिनुभयो ।
मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।
विमानमा एक जना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ । “पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो,” प्रवक्ता रेग्मीले भन्नुभयो ।
पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ ।
पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो ।





प्रतिक्रिया राख्नुहोस्