जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’
काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई स्थानीय तहलाई ‘कफी–हब’का रुपमा विकसित गरिँदै आइएको छ । कृषकलाई आकर्षित एवं प्रोत्साहित गर्न केही वर्षदेखि ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’को कार्यक्रमलाई निरन्तरतासमेत दिइएको छ ।
यो कार्यक्रमले कृषकले बिरुवा रोप्न खोल्डो खनेकोमा रु २० तथा प्रतिकिलो बिक्री दरमा गाउँपालिकाले रु ३५ सम्म अनुदान दिने गरिएको हो । किसानलाई कफीखेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफीखेतीको विस्तार गर्न जिल्लाको विकट क्षेत्र मानिएको महाभारत र खानीखोला गाउँपालिकाले कफीखेतीलाई प्रोत्साहन गर्दै आएका हुन् ।
महाभारतले एक बोट कफीको बिरुवा रोपेवापत रु २० दिने अभियान सुरु गरेको छ भने कफीखेतीमा आकर्षित गर्न खानीखोलाले ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने कार्यक्रम ल्याएको हो ।
महाभारतका केही वडामा कृषकले आफ्नै तरीकाले कफीखेती गर्दै आएपनि महाभारत गाउँपालिकालाई नै ‘कफी–हब’ बनाउने उद्देश्यले दुई वर्षदेखि सुरु गरिएको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ अभियानअन्तर्गत स्थानीय कृषकलाई पछिल्लो दुई वर्षमा गरी दुई लाख २४ हजार कफीका बिरुवा वितरण गरेको थियो ।
महाभारतले सुरुआती चरणमा पाँचवटा वडालाई कफी पकेट क्षेत्र घोषणा गरे पनि क्रमशः सबै वडालाई कफी–जोन बनाउने र कृषकलाई आम्दानीसँग जोड्न एक बोट कफीको बिरुवा रोप्ने किसानका लागि रु २० अनुदान दिने निर्णयसमेत गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
गाउँपालिकाको कृषि शाखाले नाराअनुसार खाल्डो खनेर प्रमाणित गरिएका किसानलाई उनीहरुको मागअनुसार अनुदान रकम दिने गरिएको उहाँले बताउनुभयो । उक्त गाउँपालिकाले यो वर्ष र गत वर्ष गरेर दुई लाख २४ हजार कफीका बिरुवा वितरण भइसकेको छ ।
गाउँपालिकाले उपलब्ध गराएको बिरुवामध्ये ४० हजार महाभारतमा नै उत्पादन गरिएका हुन् भने बाँकी बिरुवा जिल्लाका अन्य क्षेत्र तथा दोलाखा, ललितपुरबाट खरीद गरी ल्याइएको थियो ।
बागमती प्रदेश सरकारको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत महाभारतले कृषकलाई कफी प्रशोधन प्रविधि तालिमसमेत दिएको छ । बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा जिल्ला कृषि विकास कार्यालय धुलिखेलको सहयोग तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रममा किसानलाई कफीखेतीतर्फ आकर्षित गराउन तथा गुणस्तर उत्पादन र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम दिइएको थियो ।
जिम्बाका अनुसार हाल गाउँपालिकाले एक हजार पाँच सय रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत बनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयले कफीखेती विस्तार गर्न गाउँपालिका र प्रदेश सरकारसँगको साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र विकास गर्न बिरुवा रोप्ने, प्रविधि हस्तान्तरण र सिँचाइका लागि आवश्यक सहयोग गरिएको जनाएको छ ।
डाँडापारि क्षेत्रमा बर्सेनि २० देखि ४० हजारको हाराहारीमा कफीका बिरुवा उपलब्ध गराउँदै आइएको तथा भइरहेको कफीखेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिँदै आएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो ।
उहाँका अनुसार उत्पादित कफीलाई प्रारम्भिक चरणमा प्रशोधन गर्न किसानलाई पलपर मेसिन, सुकाउन त्रिपाल वितरण तथा कफीमा देखिने रोगका समस्या समाधानका लागिसमेत कार्यालय सहयोग गर्दै आएको छ ।
कफीखेतीबाट महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका शङ्खलाल थोकरले कफीखेती गरेर वार्षिक रु १६ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पाँच वर्षअघिबाट कफी रोपेर व्यावसायिक खेती सुरु गर्नुभएको हाल कफी–नर्सरीसमेत सञ्चालन गर्दै आउनुभएको बताउनुभयो ।
“यस वर्ष करिब दुई टन कफी उत्पादन भयो, आम्दानी पनि राम्रै छ, यो वर्ष पनि कफीका नयाँ बिरुवा रोप्ने तयारीमा छु”, थोकरले भन्नुभयो । उहाँले दाजुभाइको जमिनसहित गरेर संयुक्त रूपमा १८ रोपनीमा कफीखेती गर्नुभएको छ ।
स्थानीयस्तरमै कफी काँचो प्रतिकिलो रु १३० र सफा गरेर सुकाएपछि प्रतिकिलो रु ८३० सम्ममा बिक्री हुने स्थानीयले बताएका छन् । खानीखोला गाउँपालिकामा भने ‘जसको उत्पादन : उसैलाई अनुदान’ कार्यक्रममार्फत सिङ्गो गाउँपालिकालाई नै कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्देश्यले कफीमा प्रतिकिलो रु ३५ को दरले अनुदान दिँदै आएको छ ।
गाउँपालिकाले सुरुआती चरणमै कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ बताउनुहुन्छ । पहिलो चरणमा सबै कृषक समूहलाई रु पाँच लाख वितरण गरिएको थियो ।
थिङका अनुसार कफी किसानलाई प्रोत्साहन गर्न बर्सेनि रु २० लाखदेखि रु ३५ लाखसम्म बजेट विनियोजनसमेत गर्ने गरिएको छ । । यस्तै स्थानीय कृषकलाई वर्षेनी २० हजारदेखि ३५ हजार कफीका बिरुवा वितरण गर्दै आइएको छ । केही वर्षअघिसम्म खाद्य बालीमा आश्रित उक्त गाउँपालिकाका किसान पछिल्ला वर्षदेखि कफीखेतीमा आकर्षित देखिएको गाउँपालिकाले जनाएको छ ।
मकै, कोदो, फापरलगायत बालीले वर्षभरि जीविका धान्न मुस्किल परेपछि बिगत तीन वर्षदेखि व्यावसायिक कफीखेतीमा रमाउँदै आएका उनीहरुलाई गाउँपालिकाले समेत कफीमा अनुदान दिँदै आएको हो । किसानले उत्पादन गरेको कफीमा गाउँपालिकाले एक किलो बराबर रु ३५ अनुदान दिँदै आएको छ । किसानले बढी उत्पादन गर्छन् उनैलाई बढी अनुदान दिने योजना रहेको थिङ बताउनुहुन्छ ।
हाल उक्त गाउँपालिकाभित्र ६० देखि ७० टनसम्म कफी उत्पादन भएको जनाइएको छ । “छुट्याइएको बजेटबाट बाँकी रह्यो भने किसानलाई थप बिरुवा वितरणमा खर्चिने गरिएको छ, केही रकम नर्सरी प्रबद्र्धनमा समेत लगानी गर्दै आइएको छ”, थिङले भन्नुभयो ।
गाउँपालिकामा ११ कृषक समूहबाट १७ पुगेको छ । गाउँपालिकाको बेँसी क्षेत्रका जगथली, तालढुङ्गा, महाँकाल तथा माझीटारबाहेक सबै क्षेत्रमा कफी उत्पादन हुँदै आएको जनाइएको छ ।
यसैबीच महाभारतमा यसै चालु आर्थिक वर्षमा एक लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोपिने भएको छ । महाभारतले ‘कफी उत्पादनमार्फत समृद्धि, महाभारत निर्माण’को अभियानलाई यसै कार्यक्रममार्फत बिरुवा रोपण कार्य तीव्ररुपमा अघि बढाएको जनाएको छ । विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरी पालिकाभर यसै आवमा कुल एक लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोप्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष जिम्बाले बताउनुभयो । उहाँका अनुसार ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ कार्यक्रममा कृषकलाई कफीखेतीतर्फ आकर्षित र प्रोत्साहित गर्न पालिकाले यो नौलो कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रमअन्तर्गत विभिन्न वडामा लक्षितवर्गमा थप ३० हजार बिरुवा रोप्नसमेत लक्ष्य लिइएको छ ।
गाउँपालिकाका अनुसार हालसम्म वडा नं १, ६ र ७ मा बिरुवा वितरण भइसकेको र बाँकी वडामा पनि केही दिनभित्रै क्रमशः वितरण गरिने छ । यस्तै ‘एक वडा एक कृषि उत्पादन’ (कफीखेती) कार्यक्रममा वडा नं ५ मा मात्रै यस वर्ष करिब ३२ हजार कफीका बिरुवा रोपिसकिएको छ ।
यसैगरी ‘ब्लक विकास कार्यक्रम’अन्तर्गत कफीको व्यावसायिक उत्पादनका लागि वडा नं २ र ३ मा १७ हजार बिरुवा रोपिएको जनाइएको छ । गाउँपालिकाले कफी प्रवर्द्धन कार्यक्रम हाल कार्यान्वयनको चरणमा रहेकाले यस कार्यक्रममार्फत थप करिब ३५ हजार बिरुवा रोपेर यस वर्ष कुल एक लाख १४ हजारभन्दा बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिने जनाएको छ ।
कफीखेतीमार्फत कृषकलाई समृद्ध बनाउन गाउँपालिकाले बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई कफीखेतीको दिगो विकासका लागि कृषकलाई अन्य प्राविधिक तथा भौतिक सहयोगसमेत उपलब्ध गराइरहेको छ । जिम्बाका अनुसार कफी उत्पादन र गुणस्तर वृद्धि गर्न साना–सिँचाइ आयोजनाअन्तर्गत आधुनिक कृषि यन्त्र उपकरण वितरण, कफी सुकाउने घर निर्माण, तथा मल्चिङ र थोपा सिँचाइसहितको कफी बगैँचा स्थापना गरिएका छन् ।
यस्तै स्थानीयस्तरमै कफी नर्सरी स्थापना, छहारीका लागि बिरुवा वितरण, कृषकका लागि स्थलगत तालिम तथा अध्ययन अवलोकन भ्रमणजस्ता रचनात्मक क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइएको जिम्बाले बताउनुभयो ।
यही जेठ पहिलो हप्ता महाभारत–६ का ७१ परिवारलाई छ हजार ८ सय कफीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’अनुसार छ हजार आठ सय मात्रै खाडल खनेको पाइएपछि सोही अनुसार वितरण गरिएको जनाइएको छ ।
वडाध्यक्ष रमेश लुङ्गेलीका अनुसार वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो । कृषकको आकर्षण भए पनि मागअनुसार बिरुवा बितरण गर्न नसकिएको लुङ्गेलीको भनाइ छ ।
काभे्रपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतको गर्दै आइएको व्यावसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको हो ।
गाउँपालिकाका अनुसार हाल एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारीमा रहेको जनाइएको छ ।
कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको जिम्बाको भनाइ छ । यहाँका किसान कफीखेतीमा आकर्षित हुँदै परम्परागत रुपमा मकै, कोदोलगायतका खाद्यान बाली छाड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रुपमा अगाडि बढाएको जिम्बाले बताउनुभयो ।
यहाँका किसानले कफीखेतीबाट बर्नेनी रु पाँचदेखि १२ लाखसम्मको बिक्री गर्दै आएको वडा नं ५ का सुवास जिम्बाले बताउनुभयो । उहाँका अनुसार यहाँ कफीखेती राम्रो हुने र बजारीकरणको समस्या हट्दै गएकाले पछिल्ला केही वर्षदेखि किसान कफीखेतीतर्फ आकर्षित बढ्दै गएको हो ।
विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घ्लानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी हुँदै कफीखेतीलाई निरन्तरता दिँदै क्षेत्र बढाइएको बताउनुभयो ।
डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि कृषकले त्यहाँ हाल बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी रु पाँचदेखि छ सयसम्म पाउने गरेका छन् । एक पटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको बताइन्छ । एक रोपनीमा रु वार्षिक २५ देखि ३० हजारसम्म कमाई हुने गरेको पाइएको छ ।(रासस)



प्रतिक्रिया राख्नुहोस्