क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण दशौं हजार विस्तापित
अमेरिकाको क्यालीफेर्नियामा राज्यमा रहेको एउटा रासायनिक ट्याङ्कीबाट चुहावट सुरु भएपछि दशौं हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ट्याङ्कीमा करिब २६ हजार लिटर मिथाइल मेथाक्रिलेट रहेको थियो । प्लास्टिक निर्माणमा प्रयोग हुने यो पदार्थ अत्यन्त अस्थिर तथा ज्वलनशील मानिन्छ । अग्निनियन्त्रकहरूले अवस्थालाई गम्भीर भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
चुहावट निरन्तर बढेमा उक्त रसायन आसपासका पार्किङ क्षेत्र हुँदै फैलिन सक्ने र नजिकै रहेका इन्धन तथा अन्य रसायनयुक्त ट्याङ्कीमा समेत असर पुग्न सक्ने चेतावनी दिइएको छ । घटना Garden Grove क्षेत्रमा भएको हो, जुन Los Angeles को दक्षिणपूर्वमा पर्छ ।
गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेशबाट करिब ४० हजार मानिस प्रभावित भएको जानकारी दिएका छन् । उनका अनुसार हजारौं स्थानीयवासीले भने घर छोड्न अस्वीकार गरेका छन् ।
स्थानीय टेलिभिजनले सार्वजनिक गरेको हवाई दृश्यमा ट्याङ्कीमाथि पानी छर्किँदै गरेको देखिएको छ । अधिकारीहरूले ट्याङ्कीलाई चिसो बनाउने प्रयास प्रभावकारी भइरहेको बताएका छन् ।
ट्याङ्कीको तापक्रम हाल ६१ डिग्रीमा झरेको र ५० डिग्रीसम्म पुगेपछि अवस्था नियन्त्रणमा आएको मानिने अधिकारीहरूको भनाइ छ । हालसम्मका प्रयास सफलताउन्मुख रहेको जनाइएको छ ।
स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाइएको बताउँदै विस्फोट वा रसायनको गन्ध महसुस हुनेबित्तिकै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेकी छन् ।
शुक्रबारसम्म घटनामा कोही घाइते भएको वा प्रभावित भएको विवरण प्राप्त नभएको जनाइएको छ । चुहावटको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले सम्भावित रासायनिक फैलावटलाई ध्यानमा राख्दै पूर्वतयारीलाई तीव्र बनाएका छन् ।
रसायन हावा तथा समुद्रसँग जोडिएका नदी प्रणालीमा फैलिन नदिन रोकथाम अवरोधहरू निर्माण गरिएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार मिथाइल मेथाक्रिलेटले छाला, आँखा तथा श्वासप्रश्वास प्रणालीमा असर पुर्याउन सक्छ । यसको अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका स्वास्थ्य प्रभाव देखिन सक्ने चेतावनी दिइएको छ ।




प्रतिक्रिया राख्नुहोस्