खेलफूटबल

एन्फाले रकम नदिए कडा कदम चाल्ने क्लबहरुको चेतावनी

‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताउनुभएको छ ।

तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ ।

सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटक–पटक एन्फासँग आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधन नभएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, “एन्फाले न तयारी खर्च दिएको छ, न खेलिसकेको ‘म्याच मनि’ दिन सकेको छ, न त दोस्रो किस्ताको तयारी खर्च नै दिएको छ, अब पनि एन्फाले वेवास्ता गरे कठोर कदम चाल्न बाध्य हुनेछौँ ।”

एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्तामा रु १५ लाख, दोस्रो किस्तामा रु १० लाख र तेस्रो किस्तामा रु सात लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबले पाइसकेका छन् ।

यस्तै हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा व्यवस्थापनको कमजोरीका कारण क्लबहरुले यस किसिमको समस्या भोग्नु परेको बताउनुभयो । उहाँले एन्फा पदाधिकारीहरुमा फुटबलको विकासभन्दा पनि विदेशी मोहमात्र देखिएकाले क्लबहरु समस्यामा परेको बताउनुभयो ।

अध्यक्ष शेर्पाले नेपालीको लोकप्रिय खेल फुटबल सुन सरह भए पनि एन्फाको कमजोर व्यवस्थापनले बेच्न नसकेको आरोपसमेत लगाउनुभयो ।

पत्रकार सम्मेलनमा मच्छिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, न्युरोड टिम (एनआरटी) का महासचिव नरेन्द्रमान श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.