गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई ९२ रनले पराजित गर्दै बेंगलुरु फाइनल प्रवेश गरेको हो ।
हिमान्चल प्रदेशको धर्मशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । बेंगलुरुका लागि कप्तान रजत पटीदारले ३३ बलमा ५ चौका र ९ छक्काको सहयोगमा अविजित रहँदै ९३ रनको अर्धशतकीय पारी खेले भने विराट कोहली र कुर्नाल पाण्ड्याले समान ४३-४३ रन बनाए ।
त्यस्तै देवदत्त पडीकलले ३० रन जोड्दा वेंकटेस अय्यरले १९ र जितेश शर्मा १५ रनमा अविजित रहे । गुजरातका लागि जेसन होल्डर र कागिसो रबडाले समान दुई-दुई विकेट लिए भने तथा प्रसिद्ध कृष्णाको भागमा एक विकेट रह्यो । बेंगलुरुले दिएको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १ सय ६२ रनमा समेटियो ।
गुजरातका लागि राहुल तिवातियाले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोस बटलरले २९ र साई सुदर्सनले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बेंगलुरुका लागि ज्याकोब डफीले तीन विकेट लिए भने रसिक सलाम, भुवनेश्वर र कुर्नाल पाण्ड्याले समान दुई-दुई विकेट लिँदा जोश हेजलवुडको भागमा एक विकेट रह्यो । यस खेलमा पराजित भएको गुजरातले बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।
आजको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद तथा राजस्थान रोयल्स भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्