प्रधानमन्त्री बालेनले फोटो साझा गरेपछि ‘याक चिज’को माग ह्वात्तै बढ्यो
प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सन्देशसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को ‘याक चिज’ खाँदै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यसको बजार माग उल्लेखनीय रूपमा बढेको छ।
डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार याक चिजको बिक्री करिब ५२ प्रतिशतले वृद्धि भएको छ। गत वैशाखसम्म दैनिक औसत १२५ केजी चिज बिक्री हुँदै आएकोमा अहिले दैनिक १९० केजीसम्म बिक्री हुन थालेको उहाँले जानकारी दिनुभयो।
हाल डिडिसीसँग करिब साढे आठ हजार केजी चिज मौज्दात रहेको छ भने दैनिक एक हजार केजीसम्म चिज उत्पादन भइरहेको संस्थानले जनाएको छ।
डिडिसीले वार्षिक रूपमा ५० हजारदेखि ६० हजार केजीसम्म चिज उत्पादन गर्दै आएको छ, जसको बजार मूल्य करिब नौ करोड रुपैयाँ बराबर पर्ने बताइएको छ।
डिडिसीले उत्पादन गर्ने चिज मुख्यतः आन्तरिक बजारमै खपत हुने गरेको छ। संस्थानले याक चिज, कञ्चन चिज र मोजरेल्ला चिज उत्पादन गर्दै आएको छ।
याक चिज चौँरीको दूधबाट उत्पादन गरिन्छ भने कञ्चन चिज गाई तथा भैँसीको दूधबाट तयार गरिन्छ। हिमाली क्षेत्रमा चौँरीपालन गरिने भएकाले याक चिज अन्य चिजको तुलनामा महँगो पर्ने गरेको डिडिसीको भनाइ छ।
डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभञ्ज्याङलगायत हिमाली तथा पहाडी क्षेत्रबाट चौँरीको दूध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्