विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सीपमूलक तालिम
कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले बजेट विनियोजन गरेको छ । त्यस्तै रोजगारी गुमाएका ७५ हजारलाई रोजगारमूलक सीप विकासका लागि पनि बजेट विनियोजन गरिएको छ ।
र्थमन्त्री डा युवराज खतिवडाले बिहिबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र छन् । केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन् । अनौपचारिक तथ्याङ्कानुसार भारत, खाडी र मलेसियाबाट मात्र करीब छ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कँदै छन् ।
कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।
आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार जनालाई सिपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।
सिपमूलक तालिममार्फत् ५० हजार जनालाई रोजगारी दिन एक अर्ब छुट्याइएको खतिवडाले बताए । कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ। दुई प्रतिशत ब्याजमा नवप्रवर्द्धन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्