विश्व समाचार

भारतमा कोरोनाको चार नयाँ भेरियन्ट, १२ जनाको मृत्यु, हजार बढी सक्रिय संक्रमित

नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको चार नयाँ भेरियन्ट सक्रिय भएको छ । त्यहाँ कोरोना तीब्ररुपमा फैलिंदा १२ जनाको मृत्यु भएको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ।

भारतीय संचार माध्यम दैनिक भाष्करका अनुसार केरल राज्यमा सबैभन्दा धेरै संक्रमित भएका छन् । त्यहाँ ४ सय ३० सक्रिय संक्रमित रहेका छन् ।

मंगलबारसम्म १२ जनाको मृत्यु भएको छ पछिल्लोपटक उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ।

भारतमा फैलिएको कोरोनाका चार नयाँ भेरियन्ट रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ । परिषदका का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।

जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उपप्रकार २० प्रतिशत देखा परेका छन्।

जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, विश्वका धेरै देशमा जेएन.१ भेरियन्ट देखिएको र यो अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन।

त्यस्तै एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ। साथै, अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि यसले सहजै छल्न सक्छ।

जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ। यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने, ‘लङ्ग कोभिड’ हुनसक्ने विज्ञहरूले बताएका छन्। यस अवस्थामा संक्रमित निको भइसकेपछि पनि केही लक्षणहरू लामो समयसम्म बाँकी रहन्छन्।

विश्व स्वास्थ्य संगठनले यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ भने भारतीय विज्ञहरुले अवस्था गम्भीर नभए पनि सावधानी अपनाउनु आवश्यक रहेको बताएका छन् ।

नेपालमा भित्रियो कोरोना : सात जनामा सङ्क्रमण पुष्टि

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.