दक्षिण एसियामा सबैभन्दा बढी वन हुने देशमा नेपाल दोस्रो
नेपाल दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वन क्षेत्र रहनेमा दोस्रो स्थानमा रहेको छ । यो क्षेत्रमा भुटानमा पहिलो स्थानमा रहेको छ । भुटानमा ६९ दशमलव ७१ प्रतिशत र नेपालमा ४६ दशमलव शून्य आठ प्रतिशत वन क्षेत्र रहेको छ ।
बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणआनुसार दक्षिण एसियामा भुटान र नेपालपछि श्रीलङ्का ३४ दशमलव एक प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ ।
यसै गरी चीन २२ दशमलव ९६, भारत २१ दशमलव ७१, बङ्गलादेशमा १२ दशमलव आठ, पाकिस्तान चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वनक्षेत्र छ । विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ ।
सन् २०२४ मा नेपालको वन क्षेत्र कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत थियो । यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ ।
सन् १९९० को दशकमा नेपालमा ३९ दशमलव छ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो ।
देशको कूल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किमी संरक्षित क्षेत्रका रूपमा छ । यो कूल भू–भागको २३ दशमलव चार प्रतिशत हो । साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।
यसै गरी गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् भने यस्तो क्षेत्रले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।
गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ । साथै ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।



प्रतिक्रिया राख्नुहोस्