विवेकशील साझाका संस्थापक थापाको निधन
विवेकशील साझा पार्टीका संस्थापक नेता उज्वल थापाको कोरोना संक्रमणबाट उपचारका क्रममा निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड १९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।
अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।
अस्पतालले एक विज्ञप्ति जारी गरी थापाको निधनको पुष्टि गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’
कोरोना संक्रमणका कारण उनी बिरामी परेपछि उहाँको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उनको उपचारका लागि सहयोग गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्