जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षकालाई खोप लगाइने
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष अनुरोधमा चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो खेप नेपाल एयरलान्सले मंगलबार दिउँसो काठमाडौं ल्याएको छ । खोप आएसंगै सरकारले जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।

मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको हो । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत बिहीबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गर्नुभएको थियो । यसअघि चीनले अनुदानमै उपलब्ध गराएको ८ लाख डोज १८ देखि ५९ वर्ष उमेर समूहलाई लगाइसकिएको छ ।
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता- नेपाललाई थप दश लाख मात्रा खोप दिने घोषणा
स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले ‘विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथिका जुनसुकै उमेरमा प्रयोग गर्न सकिने बताए पनि हामीले यो खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई दिने निर्णय गरेको बताउनुभयो ।
मन्त्रालयका अनुसार देशभर करिब साढे ८ लाख जना ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक रहेको अनुमान छ । उक्त उमेर समूहका करिब ८० प्रतिशतलाई यो खोपले समेट्ने तयारी छ । करिब १४ हिमाली जिल्लामा ५५ वर्ष माथिकाहरूले यसअघि नै कोभिसिल्ड खोप लगाइसकेका छन् ।
यसअघि करिब २ लाख ९० हजार जनालाई एक मात्रा भेरोसेल खोप दिइए पनि ९७ प्रतिशतले मात्र दोस्रो मात्रा लगाएका छन् । ‘पहिलो मात्रा लिइसकेकामध्ये करिब तीन–चार हजार जना दोस्रो मात्रा लिन छुटेका छन् । कोभिसिल्ड र भेरोसेलका दुवै मात्रा लगाउनेको संख्या ७ लाख १४ हजार १ सय ६३ जना पुगेको छ भने २१ लाख १३ हजार ८० जनाले पहिलो मात्रा लगाएका छन् ।
यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन)हो । औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गते आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको थियो । यो खोपको म्याद दुई वर्षको छ । कोभिसिल्डको भने ६ महिनाको रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्