अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर बुधबार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आयोजना गरेको छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन आयोजना गरिएको छ ।
विश्वकै आकर्षक हिमाली पदमार्गमध्ये एक मानिने अन्नपूर्ण क्षेत्रमा आयोजित यस प्रतियोगितामा स्वदेश तथा विदेशका धावकहरूको उत्साहजनक सहभागिता रहेको छ।

समुद्री सतहबाट करिब ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एबीसी) बाट सुरु भएको म्याराथन धान्द्रुकसम्म सञ्चालन हुनेछ। हिमालको काखबाट सुरु हुने यो दौड विश्वका कठिन र साहसिक म्याराथनमध्ये एक मानिन्छ।
प्रतियोगितामा सहभागी धावकहरूले हिमाली भूगोल, उकालो–ओरालो बाटो, मौसमको चुनौती र उच्च उचाइको प्रभावसँग जुध्दै निर्धारित दूरी पार गर्नुपर्ने हुन्छ।

अन्नपूर्ण आरोहण दिवस प्रत्येक वर्ष सन् १९५० जुन ३ मा मौरिस हर्जोग नेतृत्वको फ्रान्सेली टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम को सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा मनाइन्छ।
सोही अवसरमा आयोजना गरिने अन्नपूर्ण म्याराथनले साहसिक पर्यटनको प्रवर्द्धन गर्नुका साथै अन्नपूर्ण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

आयोजकका अनुसार प्रतियोगिताले हिमाली पर्यटन, स्थानीय संस्कृति र प्राकृतिक सम्पदाको प्रचार–प्रसारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। साथै, धान्द्रुक, छोम्रोङ, सिनुवा, देउरालीलगायत पदमार्गका बस्तीमा पर्यटन गतिविधि बढाउन पनि यसले योगदान पुर्याउने विश्वास गरिएको छ।

हिमाल, प्रकृति र खेलकुदको अद्वितीय संगमका रूपमा स्थापित अन्नपूर्ण म्याराथनले नेपाललाई साहसिक खेल पर्यटनको आकर्षक गन्तव्यका रूपमा थप चिनाउन सहयोग पुर्याउँदै आएको छ।


तस्बिरः विष्णु नेपाल/रासस




प्रतिक्रिया राख्नुहोस्