क्रिकेटखेल

एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित

मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा नेपालले विजयो सुरुवात गरेको छ । बुधबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमा समेटिएको थियो । कतारका लागि ओपनर गितरुडु चण्डिरुले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाइन् भने कप्तान आयसाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट लिइन् भने कविता कुवँर, रिया शर्मा र पूजा महतोको भागमा समान एक-एक विकेट रह्यो । कतारले दिएको ७८ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको लागि विन्दु रावलले ३० बलमा ४ चौकाको सहयोगमा ३३ रन बनाइन् भने उपकप्तान पूजा महतो २६ बलमा ४ चौकाको मद्दतमा २८ र कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहे ।

अब नेपालले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार भुटानसँग र समूह चरणको अन्तिम खेलमा जेठ २३ गते हङकङसँग खेल्नेछ । प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागीता रहेको छ । एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहेका छन् ।

यस प्रतियोगितामा सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । एसिसीका अनुसार समूह ‘ए’ मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया रहँदा समूह ‘बी’ मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.