जल/वातावरण

क्वारेन्टाइनबाट घर गएका युवकको घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु

सुर्खेत पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । तर घरमा बिहिबार बिहान मृत्यु भयो ।

जेठ ९ गते भारतको मुम्बइबाट आएका उनी पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका थिए । उनको मृत्युपछि स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको छ । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्ने छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बुधबार दिउँसो तीन बजे उनीहरू क्वारेन्टाइनबाट घर हिडेका बताउनुभयो । बुधबार आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीसँगै पाँच जना घर गएका थिए । घर गइसकेपछि परिवारबाट टाढा रहेर एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्न सुझाव दिएकाले उनीहरू गाउँमै भएको सामुदायिक भवनमा बस्ने गरी रात ११ बजे पुगेको प्रमुख थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘घर नजिकै मौरी पालनका लागि निर्माण गरिएको सामुदायिक भवन भएकाले घरमा बस्नुभन्दा सामुदायिक भवनमा बस्ने र घरबाट खाना ल्याउने गरी त्यही बस्ने तयारी गरेका रहेछन् ।’

वडा नं १ का अध्यक्ष धनबहादुर थापाले बिहान २ बजे बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको बताउनुभयो । खाना खाएर सुतेपछि एक्कासि घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु भएको सँगै भएका साथिहरूले जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।

उहाँले युवाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर वीरेन्द्रनगरमा परीक्षणका लागि पठाउने तयारी भएको जानकारी दिनुभयो । पीसीआर रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो भनेर खुल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.