एन आर एन न्युज

नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा

गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने र सबै शाखा तयारी अवस्थामा रहेको जनाएको छ ।

एनआरएनए

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ र पहिलो पटक संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरु गरिने भएको हो ।

एनआरएनएले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले जिकिर गर्नुभयो । संघले नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्कन शुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुशी व्यक्त गर्दै देशवासीलाई स्वदेश फर्काउने कार्यमा संघले सक्दो सहजीकरण गर्न संघका सबै राष्ट्रिय समन्वय समिति (एनसिसी)लाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । संघले विश्वभर छरिएका नेपाली दूतावाससंँग सहकार्य गर्दै नेपालीको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई निर्देशन दिइसकेको छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारामा परेका सबै नेपालीलाई धैर्य गरी जहाँ आफू रहेको हो त्यहीँ रहन र एकार्कालाई सहयोग पुर्‍याउनसमेत आग्रह गर्नुभयो । यसअघि संघका विदेशस्थित शाखाले नेपाल फर्कन चाहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् ।

तथ्यांकानुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको सङ्घले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.