रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन
छ जनाको ज्यान जाने गरी रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिनुभयो ।
सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो ।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुनः माग गरेको थियो । बैठकमा समय माग गरेर काँग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताउनुभयो ।
घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ ।” यही जेठ १० गते जाजरकोट र रुकुम९पश्चिम०का स्थानीयवासीबीच विवाद हुँदा उक्त घटना भएको थियो ।
बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताउनुभयो । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्