चुनावी सरकारमा हेरफेर, जसपालाई लाभैलाभ
प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ (चुनावी) सरकारमा व्यापक हेरफेर गरेपछि सरकारको उद्देश्य चुनाव हो कि के हो भन्ने प्रश्न उठेको छ । अबको पाँच महिनाभित्र चुनाव सम्पन्न गर्ने घोषणा गरेको सरकारले जनता समाजवानी पार्टी (जसपा)लाई सरकारमा सामेल गराएर बलियो बनाएपछि यसप्रति अनेक तर्क उठेका छन् ।

शुक्रबार एमालेका केही मन्त्रीहरुलाई हटाएर जसपाका नेताहरुलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा शुक्रबार जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो हुनुहुन्छ । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त हुनुभएको छ ।
नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा– खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ ।
राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिनुभएको छ । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहनुभएको छ ।
२०७४ को प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा उपप्रधानमन्त्री नराख्ने उद्घोष गर्नुभएका ओलीले आफ्नै वाचाबाट विचलित भएर दुई हुँदै अहिले उपप्रधानमन्त्रीको संख्या तीन पुर्याउनुभएको छ । यसअघि उपेन्द्र यादव सरकारमा सहभागी हुँदा उहाँ र ईश्वर पोखरेल गरी दुई उपप्रधानमन्त्री थिए । यादव हटेपछि एक्लो उपप्रधानमन्त्री रहेका पोखरेल शुक्रबारको पुनर्गठनमा बाहिरिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्