बिचार

सन्दर्भ वातावरण दिवस : आफ्नो संस्कार र संस्कृति बिर्सेर अरुको नारामा भौतारिंदा

आज जेष्ठ शुल्क षष्ठी अर्थात् राजधानी काठमाडौं उपत्यकाको पौराणिक पर्व सिथी नखः । सिथी नखः मूलत पानीका मुहान, मुल र स्रोत सफा गर्ने दिन । अनि आजकै दिन विश्व वातावरण दिवस पनि परेको छ । सिथी नखः र वातावरण दिवस एक अर्काका परिपूरक दिवस भए पनि राजनीतिक नेतृत्वले सिथी नखःलाई एउटा परम्परा मात्र ठाने अनि विश्व वातावरण दिवसको भने धुवाँधार शुभकामना दिए ।

नेपाली संस्कृति, परम्परा र यहाँका चाडपर्वहरु सबै वातावरण सबै चाडपर्व मैत्री छन् । यस्तै वातावरणमैत्री पर्व हो– सिथी नखः । यो पर्वले पानीका मुहान, स्रोत सफा राख्ने प्रेरणा दिइरहेकै छ । आजभोलि सार्वजनिक पानीका स्रोत, धारा, पोखरी, कुवाहरु नभए पनि परम्परा निर्वाह भैरहेकै छ ।

जबसम्म मानिस प्रकृतिसंग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथ, तबसम्म प्रकृति कुपित भएका थिएन । आजभोलि प्रकृति कुपित छ– बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । यो क्रम सुरु भएको लामो समय भने भएको छैन ।

विश्व औद्योगिककरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन विग्रन थालेको हो । पृथ्वी क्रमशः तात्न थालेको झण्डै सय वर्ष पुग्यो । यसको प्रमुख कारण भनेको आम विनाशकारी र रासायनिक हातहतियारको बढ्दो उत्पादन र प्रयोग तथा औद्योगिकरकणको नाममा वातावरणीय सन्तुलनलाई ख्याल नगर्नु नै हो । यसको प्रत्यक्ष असर मौसममा समेत परेको छ । नेपाल जस्तो जैविक र भौगोलिक विविधता भएको मुलुकमा मौसम अनुसारको खेतीपाती गर्नु अब ठूलो चुनौतिको विषय बन्न थालेको छ ।

तापक्रम बढ्न थालेको यो सय वर्षमा विगत १० वर्षयता पृथ्वीको तापक्रम औसतभन्दा निकै बढेको छ । यसको प्रत्यक्ष असर हिमाल र सागरलाई पर्ने विजज्ञहरू बताउँछन् । यतिखेर नेपाल जस्ता हिमाली मुलुकहरूमा हिमाल पग्लेकै कारण हिमतालहरूको संख्या बढ्दैछ । यसै गरी तापक्रम बढ्दै जाने हो भने यी हिमतालहरू कुनै पनि बेला विस्फोट हुने खतरा औंल्याउन थालिएको छ ।

हिमालहरू पग्लदै गएपछि समुद्रको सतह पनि बढ्ने र यसले कतिपय टापु मुलुकहरूको अस्तित्व विलिन हुने अवस्था आउने छ । जलवायु परिवर्तन नेपाल वा कुनै एक मुलुकको मात्र चासो र चिन्ताको विषय होइन । धनी र विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको अत्यधिक शोषणको परिणाम नेपालजस्ता मुलुकहरूले भोग्नु परिरहेको छ ।

केही वर्षयता नेपालमा जलवायु परिवर्तनको स्पष्ट संकेतहरू देखिएका छन् । मनसुनमा वर्षा नहुने मात्र होइन हिउँदे वर्षा पनि कम हुन थालेको छ । यसले खानेपानीको समस्या झन विकराल बनाइरहेको छ भने खाद्यान्न उत्पादनमा पनि भारी गिरावट आएको छ । जलस्रोतको भण्डार रहेको भए पनि जनताको घरमा धारा र खेतमा सिंचाई सुविधा नपुगेका कारण नेपाली किसानहरू आकाशे पानीको भरमा खेती गर्न विवश छन् भने खानेपानीका लागि नदी, पोखरी, कुवा, इनारको भरपर्नुपर्ने अवस्था अहिले पनि विद्यमान नै छ । जलवायु परिवर्तनकै कारण भूमिगत जलस्रोत घट्दै गएको छ भने वन विनाश लगायत वातावरणीय प्रदूषणका कारण पानीका स्रोतहरू सुक्न थालेका छन् । नेपाल यतिबेला गम्भीर वातावरणीय प्रभावको दुष्चक्रमा पिसिएको छ ।

वातावरणीय शुद्धता र सन्तुलनका लागि वन जंगलको महत्वपूर्ण भूमिका हुन्छ । इन्धनको रुपमा दाउरा, औषधिका रुपमा जडिबुटी, पानीको स्रोत पनि जंगल नै हो । ‘जंगल नै मंगल’ भनेर त्यसै भनिएको होइन । तर अहिले यही मंगल गर्ने जंगल विनाश र अतिक्रमणको चपेटामा परेको छ ।

यतिबेला आयोजनाहरूको वातावरणीय प्रभाव मापन गर्ने काम बाहेक उनीहरूले जलवायु परिवर्तन तथा बढ्दो तापक्रम न्यून गर्ने र यसको प्रभावबाट बच्ने उपायहरूका बारेमा नीति निर्माण गर्ने चासो नै देखाइएको छैन । त्यसकारण अहिले भैरहेको संयन्त्रले प्रभावकारी काम गर्न नसक्ने हुँदा वातावरण र प्राकृतिक स्रोत साधनसंग सम्बन्धित विज्ञान, वन र जलस्रोत मन्त्रालयमा वातावरणीय प्रभाव हेर्ने अलग्गै र अधिकारसम्पन्न डेस्क स्थापना गर्नु अति आवश्यक छ ।

विश्वव्यापी जलवायु परिवर्तन र तापक्रम वृद्धिको मारबाट बच्न र अरु क्षति हुन नदिन के कस्तो उपायहरूको अवलम्बन गर्नुपर्छ भन्ने विषयमा राजनीतिक नेतृत्वसंग कुनै दृष्टिकोण छैन । वातावरणीय प्रदूषण कम गर्न चालिनुपर्ने कदमहरूका बारेमा विज्ञहरूले सुझाएका विकल्पहरूको पालना गर्ने चासो पनि सरकारले गरेको छैन । राजधानीको वायु प्रदूषणकै कुरा गर्ने हो भने यो विश्वका सर्वाधिक प्रदूषित शहरहरूको श्रेणीमा पर्दछ ।

यहाँ गुड्ने थोत्रा गाडी, साँघुरो र भत्केका सडक तथा अव्यवस्थित वस्ती विकासले प्रकृतिको स्वर्ग मानिने काठमाडौं यतिबेला फोहर, प्रदूषण र अव्यवस्थाको शिकार बनेको छ । कुनै बेला विश्वलाई नै मोहित पार्ने उपत्यका यतिबेला संकटमा पर्न थालेको छ । विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको समेत संरक्षण गर्न नसकिएको अवस्था विद्यमान नै छ । यी सव क्रियाकलापहरू वातावरणीय चेतनाको अभावले गर्दा भएको हो ।

यदि यही रुपमा वातावरणीय प्रदूषण बढ्दै जाने हो भने नेपालको मौलिक पहिचान गुम्न अब धेरै लामो समय लाग्नेछैन । वन क्षेत्रसंगै तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको रोकथामका लागि चालिने कदमहरूका बारेमा स्पष्ट योजना आउन सकेको छैन । अहिले पनि वातावरण राष्ट्रिय योजनाको रुपमा अघि बढ्न सकेको छैन ।

नेपालले अहिले जेजति वातावरणीय समस्या भोगिरहेको छ त्यो आफ्नो कारणले भन्दा अरुकै कारण बढी मात्रा जिम्मेवार छ । वातावरण जोगाउनु भनेको मानव सभ्यता बचाउनु हो । नेपालमा परम्परादेखि नै वातावरणमैत्री कार्यक्रमहरु चलिआएका थिए र आजभोलि औपचारिकता निर्वाहमा ती कार्यहरु हुन्छन् ।

उदाहरणका लागि वैदिक संस्कृतिमा यज्ञलाई सबभन्दा प्राथमिकतामा राखिएको छ । यसको एउटै कारण हो सृष्टि संरचनाका यावत जीव, वनस्पतिको रक्षाका लागि आवश्यक शुद्ध हावापानी र खाद्यान्न । यज्ञमा होमिने चरुबाट निस्कने धुँवा नै वातावरण शुद्ध राख्ने सबभन्दा उपयुक्त पदार्थ हो ।

यज्ञकुण्डमा हालिएको पदार्थ सूक्ष्म भएर फैलिंदै हावाका माध्यमबाट टाढाटाढासम्म पुग्दछ र सुगन्ध फैलाउँछ । जल, जमिन, वनस्पति, सबै शुद्ध हुन्छन् । यसले दीर्घजीवन प्राप्त हुन्छ । खाद्यान्नदेखि सबै अत्यावश्यक वस्तु प्राकृतिक हुन्छन् । तर, आज यी सबको साटो कृतिमताले जरा गाडेको छ ।

अहिले मानिसलाई प्राकृतिक रुपमा स्वस्थ रहने वैदिक विधिबिरुद्ध उक्साएर बहुराष्ट्रिय कम्पनीहरुले विषवमन गरे, पैसा खुवाएर उक्साए । आफ्ना औषधि, हाइब्रिड खाद्य वस्तुका बीज र रासायनिक पदार्थ विक्रीको बजार विस्तार गरे । हाम्रा कथित क्रान्तिकारीहरु त्यसैको सिको गरेर आफ्नो मौलिकता नष्ट गर्न उद्यत रहे । उनीहरुले के बुझ्न सकेनन् भने अग्निमा होमिएको पदार्थ केवल खाद्यान्न मात्र हैन । त्यो औषधि हो ।

त्यसकारण भन्न सकिन्छ यज्ञ गर्नु फगत आगोमा अन्न हुर्याउनु मात्र हैन । यो वातावरण सुद्ध गर्ने सबभन्दा वैज्ञानिक वैदिक विधि हो । साउने संक्रान्तिमा लुतो फाल्नु, सिथी नखःमा धारा, इनार, कुवा, पोखरी सफा गर्नु पनि यसैको द्योतक हो । संस्कार र संस्कृतिले सिकाएका यस्ता अभ्यासहरु विस्मृतिमा पर्दा हामी अरुको नाराको भरमा भौतारिइरहका छौं ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button