सिड्नी नजिकै विदेशी कीराको ठूलो अवैध व्यापार उजागर
अष्ट्रेलियाका वन्यजन्तु अधिकारीहरूले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेको अवैध साङ्ला–प्रजनन कारोबारको पर्दाफास गर्दै एक लाखभन्दा बढी साङ्ला जफत गरेका छन्।
उक्त कारबाही सिडनीको पश्चिममा रहेको बाथस्र्ट सहरमा गरिएको छापाका क्रममा भएको हो। प्रारम्भिक अनुसन्धानले यो कारोबार विदेशी कीराहरूको अवैध व्यापारसँग सम्बन्धित रहेको देखाएको छ।
अस्ट्रेलियाको वातावरण विभागका अनुसार व्यापारिक रूपमा साङ्ला प्रजनन गर्ने एक व्यक्तिको फार्ममा गरिएको छापामा करिब एक लाखभन्दा बढी अवैध साङ्ला फेला परेका हुन्।
जफत गरिएका साङ्लामध्ये मेडागास्कर ‘हिसिङ’ साङ्ला पनि रहेका छन्, जुन आफ्नो विशेष आवाज निकाल्ने रक्षात्मक क्षमताका कारण चिनिन्छ। त्यस्तै, छेपारो तथा अन्य घरपालुवा जनावरको आहारका रूपमा प्रयोग हुने ‘डुबिया साङ्ला’ पनि ठूलो मात्रामा भेटिएको अधिकारीहरूले जनाएका छन्।
फार्ममा जफत गरिएका साङ्लाहरू अत्यन्त ठूला आकारका रहेको बताइएको छ। तिनले वयस्क मानिसको हत्केला ढाक्न सक्ने अवस्थासम्म पुगेको तस्बिरहरूमा देखिएको उल्लेख गरिएको छ।
वातावरण विभागका प्रवक्ताले अस्ट्रेलियाको जैविक विविधता तथा वातावरण संरक्षण कानुनलाई कडाइका साथ लागू गरिँदै आएको बताएका छन्। उनका अनुसार विदेशी साङ्लाको अवैध प्रजनन र व्यापार बढ्दै गएकाले सम्बन्धित व्यवसायी तथा उपभोक्तालाई सचेत रहन आग्रह गरिएको छ।
विभागले जफत गरिएका साङ्लाको अनुमानित मूल्य करिब १ लाख ४० हजार अमेरिकी डलर (झण्डै २ लाख अस्ट्रेलियन डलर) रहेको जनाएको छ।
अधिकारीहरूले ती जीवित साङ्लाहरूलाई नष्ट गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। वातावरणीय जोखिमका कारण यस्ता प्रजातिको व्यवस्थापन अत्यन्त संवेदनशील हुने बताइएको छ। साङ्लाहरू अत्यन्त कठोर जीवका रूपमा चिनिन्छन् र तिनीहरूले चरम अवस्थासमेत सहन सक्ने भन्ने जनविश्वास पनि रहेको छ।




प्रतिक्रिया राख्नुहोस्