परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्नुभएको छ। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभएको थियो।
वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा सहयोग र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा पनि विचार आदानप्रदान गरेका थिए।
मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल प्रविधि तथा वित्तीय क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयासको स्वागत गर्नुभएको थियो।
साथै, नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ र परिणाममुखी बनाउँदै नयाँ उचाइमा पुर्याउन दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई थप प्रभावकारी बनाउन संस्थागत कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तापछि भारतका विदेशमन्त्री डा. जयशङ्करले भारतको सन् २०१५ को भूकम्पपछिको पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना नेपाललाई हस्तान्तरण गर्नुभएको थियो।
भ्रमणका क्रममा नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषण (रेमिट्यान्स) लाई सहज बनाउन भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको संयुक्त रूपमा शुभारम्भ गरिएको थियो। यसलाई डिजिटल वित्तीय सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
त्यसैगरी, बहुभाषिक डिजिटल पूर्वाधार निर्माण तथा भाषा प्रविधिको विकासका लागि भारतको ‘इन्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले ‘भ्वाइस–फर्स्ट’ भाषा अनुवाद प्रविधिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नयाँदिल्ली बसाइका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय परिस्थिति तथा आपसी सहयोगका विविध आयामबारे छलफल भएको जनाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले दुवै देशका जनताको आकाङ्क्षाअनुरूप द्विपक्षीय साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदानको अवसर प्रदान गर्नुका साथै जारी सहकार्यलाई थप गतिशील बनाउन नयाँ ऊर्जा दिएको छ। साथै, नेपाल–भारतबीचको नियमित उच्चस्तरीय संवाद र आदानप्रदानको परम्परालाई पनि यस भ्रमणले थप सुदृढ बनाएको छ।
भारतले आफ्नो ‘नेबरहुड फर्स्ट’ (छिमेक पहिले) नीतिअन्तर्गत नेपालसहित दक्षिण एसियाली छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ।
यस सन्दर्भमा परराष्ट्रमन्त्री खनालको भ्रमणले आपसी विश्वास, समझदारी तथा सहकार्यलाई अझ सघन बनाउँदै नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिएको कूटनीतिक वृत्तमा मूल्याङ्कन गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्