विश्व समाचार

इरानद्वारा बहराइन र कुवेतमा क्षेप्यास्त्र आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो

अमेरिकाले इरानका तटीय निगरानी केन्द्रहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानले शनिबार अमेरिकी सहयोगी राष्ट्र बहराइन र कुवेततर्फ क्षेप्यास्त्र प्रहार गरेको छ।

यस घटनाले खाडी क्षेत्रका राजतन्त्रात्मक मुलुकहरूलाई आक्रोशित बनाएको छ भने हाल कायम रहेको नाजुक युद्धविराममाथि थप दबाब सिर्जना गरेको छ।

मध्यपूर्व युद्ध अन्त्य गर्ने तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा विगत केही सातादेखि जारी अप्रत्यक्ष वार्ताहरू निष्कर्षविहीन बनेका छन्। यस अवधिमा दुवै पक्षबीच धम्की र छिटपुट सैन्य झडपहरू जारी रहेका छन्।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार शुक्रबार राति इरानले होर्मुज जलडमरूमध्यतर्फ प्रहार गरेका चारवटा आक्रमणकारी ड्रोन अमेरिकी सेनाले खसालेको थियो। त्यसपछि अमेरिकी सेनाले इरानका तटीय निगरानी राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले शनिबार विज्ञप्ति जारी गर्दै उक्त अमेरिकी कारबाहीको जवाफस्वरूप क्षेत्रस्थित “शत्रुका सैन्य आधारहरू”लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ।

सेन्टकमका अनुसार इरानले बहराइन र कुवेततर्फ सातवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये छवटा मिसाइल अवरोध गरी नष्ट गरिएको र एउटा लक्ष्यसम्म पुग्न नसकेको बताइएको छ।

अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालय रहेको बहराइनले यस आक्रमणलाई “खुला आक्रामकता”को संज्ञा दिएको छ भने कुवेतले यसलाई “अत्यन्त खतरनाक तनाव वृद्धि” भनेको छ।

बहराइनको राजधानी मनामामा हवाई हमलाको साइरन बजिरहेका बेला तीनवटा ठूलो विस्फोटको आवाज सुनिएको समाचार संस्था एएफपीले जनाएको छ। कुवेतमा पनि अन्तर्राष्ट्रिय विमानस्थल नजिक पटक–पटक विस्फोटको आवाज सुनिएको बताइएको छ।

“हामी ठूलो विस्फोटको आवाजले ब्युँझियौं। मेरा बालबालिका अत्यन्त डराए, उनीहरूलाई सम्झाउन निकै कठिन भयो,” कुवेतकी दुई सन्तानकी आमा रिमले बताइन्।

युद्धविराममाथि संकट

झण्डै १०० दिनअघि अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको युद्धमा अप्रिल ८ देखि युद्धविराम लागू भए पनि बेलाबेला झडपहरू भइरहेका छन्।

इरानको विदेश मन्त्रालयले पछिल्लो अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको “घोर उल्लंघन” भन्दै वासिङ्टनको व्यवहारलाई “उत्तेजक र शत्रुतापूर्ण” भएको आरोप लगाएको छ।

युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासहरू पटक–पटक असफल भइरहेका छन्। यसले विश्व बजारमा समेत प्रभाव पारेको छ भने अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाएको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले वार्ता ठप्प अवस्थामा पुगेको भन्दै रोक्का गरिएका करिब २४ अर्ब अमेरिकी डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेका छन्।

यता अमेरिकी प्रशासनले भने ती रकम इरानी आक्रमणबाट खाडी मुलुकहरूमा भएको क्षति पुनर्निर्माणमा प्रयोग गर्न सकिने संकेत दिएको छ।

लेबनानमा पनि जारी द्वन्द्व

इरान समर्थित समूह हिजबुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि युद्धमा तानिएको लेबनानले शुक्रबार इरानलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।

यसैबीच लेबनानी सेनाका प्रमुख रोडोल्फ हायकल शनिबार पाकिस्तान प्रस्थान गरेका छन्। उनले पाकिस्तानका सेनाप्रमुख असिम मुनिरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। पछिल्लो समय पाकिस्तान इरान–अमेरिका संवादमा मध्यस्थकर्ताको भूमिकामा देखिएको छ।

इरानले भने लेबनानको द्वन्द्व र खाडी क्षेत्रमा जारी युद्ध एक–अर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउँदै आएको छ।

शनिबार दक्षिणी लेबनानमा इजरायली आक्रमणमा तीन जना लेबनानी सैनिक मारिएको दाबी गरिएको छ। इजरायली सेनाले घटनाको समीक्षा भइरहेको बताउँदै आफ्नो अभियान सरकारी सेनाविरुद्ध नभई हिजबुल्लाहविरुद्ध लक्षित रहेको जनाएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी साक्साकियेह क्षेत्रमा भएको अर्को इजरायली आक्रमणमा दुई महिलाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। यता इजरायली सेनाले पनि शनिबार आफ्ना दुई सैनिक मारिएको पुष्टि गरेको छ।

विश्वकप फुटबलमा भिसा विवाद

यसैबीच, आगामी फिफा विश्वकप फुटबललाई लिएर अमेरिका र इरानबीच नयाँ कूटनीतिक विवाद उत्पन्न भएको छ। अमेरिकाले इरानी विश्वकप टोलीका केही प्रशासनिक र व्यवस्थापकीय सदस्यलाई भिसा दिन अस्वीकार गरेपछि इरानले आपत्ति जनाएको हो।

इरानी सरकारी टेलिभिजनका अनुसार खेलाडी तथा प्राविधिक टोलीका सदस्यहरूले भिसा पाए पनि १५ जना प्रशासनिक अधिकारीलाई प्रवेश अनुमति दिइएको छैन।

अमेरिकी प्रशासनका एक अधिकारीले “झुटा बहानामा आतंकवादीलाई अमेरिका प्रवेश गराउन प्रणालीको दुरुपयोग हुन नदिने” बताएका छन्।

टर्कीस्थित इरानी दूतावासले अमेरिकी निर्णयलाई विभेदपूर्ण भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई हस्तक्षेप गर्न आग्रह गरेको छ। इरान फुटबल महासंघले पनि उक्त कदमलाई “खेलकुदमाथिको सबैभन्दा खराब राजनीतिक हस्तक्षेप”को संज्ञा दिएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार टोली हाल मेक्सिकोतर्फ प्रस्थान गरिसकेको छ, जहाँ अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुने विश्वकप अवधिभर टोलीको आधार शिविर रहनेछ।

तनाव थप बढाउने क्रममा मेक्सिकोका लागि इरानी राजदूतले टोलीलाई आफ्ना खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्न र खेलपछि सोही दिन बाहिरिनुपर्ने सर्तसहित भिसा दिइएको जानकारी गराएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.